‘कविता’ खोला
‘कविता’ खोला
लेखक : भरत केवट (शिक्षक)
श्री भवानी माध्यमिक विद्यालय, मान्वु गोरखा
नौ मास गर्भ, राखेर आमा, हुर्कायौ मलाई
वर्षा नै तिमी, जननी मेरी, जन्मायौ मलाई
धुलौटे खोला, छहरा छाँगा, भेटेर हजार
लिएर साथी, मिलेर खुब, चहार्छु संसार
प्रसव पीडा सँहदा तिमी प्रकृति रोएको
जेठमा गर्मी बढेर होला उष्णता बढेको
असार मास छ धेरै खास किसान जनको
छरेर मानो उमार्ने मुरी सपना मनको
साउन भदौ अधिक वर्षा छ हुने गरेको
वर्षात मास नदी र नाला छ निकै बढेको
फलाइ अन्न जहान पाल्छ कर्मले किसान
आएरै तिमी थपिछौ हर्ष छौ वर्षा महान
ढुङ्गा र मुढा बगाइ लान्छु भेटिए साथमा
बगेको हुन्छु लिएर सबै सङ्गीनी काखमा
बनको पात लिएर साथ झर्दछु बेसीमा
थुपार्छु मल लिएर जल खेत र बारीमा
हिलो र मैलो पखाली लान्छु बर्षाको भेलले
नमान त्रास भर्छु म झोली खुसी नै खुसीले
विनास भन्दा विकास गर्ने हो मेरो चाहना
नगर गाली मलाई खालि तिम्रो यो बहाना
प्रकृति प्रेमी मानव हामी धन्य छ नेपाल
जलमा धनी यो दोस्रो देश कस्तो छ कमाल
आएर बर्षा ल्याउछ हर्ष जानेछ छोडेर
हुनेछिन् खुसी सलिल हाम्री समुद्र भेटेर
धरती भित्र बिचित्र चित्र कोरेका ईशले
बगेकी छु म धरणी भित्र प्रकृति पथले
जलका प्राणी थलका बोट प्रकृति मानव
खोलेर मन पिएर जल मान्दछ गौरव
हाहा र हुहु गर्दछन् यहाँ नदी र नालाले
रम्दछ मन पानी नै पानी देखेर नेत्रले
ती नदी दिदी छिन् धेरै तल म भेट्न दौडेकी
त्यसैले मेरो गति छ छिटो उर्लिदै बगेकी
दुइटी हामी दिदी र बैनी सुहायौँ साथमा
दिदीको हात पाएर साथ पुग्नु छ समुद्रमा
मिलेर हामी चाँदीझैँ टल्की धरती ढाकेको
अधिक भाग हाम्रो छ राज प्रेमले बाँधेको
शरद ऋतु आएर हो कि सलिल कमि भो
मेरो यो गति घटेर हो कि सुकेरै जानी भो
नौ मास पछि आउँछु भेट्न बस है पर्खेर
सुकेर खोला नगर हेला आउँछु फर्केर ११
समाप्त