बुढीगण्डकीको निर्माण छिट्टै अघि वढ्छ ः प्रचण्ड
बुढीगण्डकीको निर्माण छिट्टै अघि वढ्छ ः प्रचण्ड
गोरखा ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनको निर्माण छिट्टै अघि वढ्ने बताएका छन् । बुधवार गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले आफ्नै पालामा आयोजनाको शिलन्यास पनि हुने बताए ।
हरहालतमा आयोजनाको निर्माण कार्य अघि वढ्ने प्रचण्डको भनाइ छ । ‘हिजो ऊर्जा मन्त्रालयको आयोजनामा छलफल पनि गरे, पूर्वतयारीका काम लगभग सकिएको छ, आयोजना अव ‘रेडी टु गो’ को अवस्थामा पुगेको छ ,’ उनले भने । आयोजनाशिलन्यासका लागि आफै आउने पनि उनले बताए । ‘यहि पटक म शिलन्यास गर्न आउछु,’ उनले भने । बर्खामा बिजुलीको उत्पादन खेर जाने र हिउँदमा अभाव हुने परिस्थिति बुढीगण्डकी जलाशययुत्त आयोजना बनेपछि समाधान हुने उनले बताए । देशभित्रै बिजुली खपत बढाउन सरकारले गृहकार्य गरिरहेको पनि उनको भनाइ छ । स्वदेशमा खपत बढाएसँगै भारत र बङ्गलादेशमा बिजुली बिक्री गरिने प्रचण्डले बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनालाई वहुउदेश्यीय आयोजनाको रुपमा अघि वढाउनुपर्ने बताए । वुढीगण्डकीलाई सामान्य जलविद्युत् आयोजनाको रूपमा नलिन उनले आग्रह गरे । आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ छ । ‘आयोजना निर्माणको मोडालिटी के हो ? कसरी बनाउन खोजिएको छ, यो आयोजना वनेपछि पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण छ, आयोजना वनाउने मात्र भन्दा पनि रोजगारी सिर्जना हुने तवरले अघि वढाउनुपर्छ,’ उनले भने । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् बुढीगण्डकी जलविद्युत् कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा गृहमन्त्ती नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्ति वहादुर वस्नेत लगायतको सहभागीता रहेको थियो ।
सरकारले आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेसगै आयोजना बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिएको हो । वुढीगण्डकीको अनुमानित लागत दुई अर्ब ५९ करोड अमेरिकी डलर रहने उल्लेख छ । हाल सम्म गोरखा र धादिङतर्फ गरी ४९ हजार ९५ रोपनी जग्गाको मुआब्जाबापत ३४ अर्ब २१ करोड रुपैयाँ वितरण गरिएको छ । २२ हजार चार सय तीन घरगोठलगायत अन्य भौतिक संरचना, सात लाख ८७ हजार आठ सय ५४ वटा बोटबिरुवा तथा फलफूको क्षतिपूर्ति बापत जग्गाधनीलाई छ अर्ब ९१ करोड रुपैयाँ वितरण गरिएको छ ।
गोरखा र धादिङको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइने छ । बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटरमा फैलने छ ।