ट्याक्टरको प्रयोगबाट रोपाइँ
ट्याक्टरको प्रयोगबाट रोपाइँ
गोरखा ः यतिखेर दरौदी, भुसुण्डे लगायतका फाँटका किसान ट्याक्टरको प्रयोगबाट रोपाइ गर्न ब्यस्त छन् । गोरु पाल्न छाडेका किसानले ट्याक्टरको प्रयोगबाट रोपाइँ गरिरहेका छन् ।
छिटो र सजिलो भएपछि गोरु भन्दा ट्याक्टरको प्रयोग गरेको सिरानचोक गाउँपालिका–४ का नेत्रवहादुर कुमालले बताए । तीन वर्ष यता उनले गोरु पाल्न छाडेका छन् । ‘ट्याक्टर भए एकै दिनमा वाझो जोत्ने हिल्याउने गरेर रोपाइ गर्न सकिन्छ, गोरुले भए त्यहि काम गर्न दिन विराएर गर्नुपर्छ,’ उनले भने,‘सुविधा भएपछि गोरु पाल्न छाडेर ट्याक्टरबाट रोपाइ गर्नेहरु वढेका छन् ।’ प्रति घण्टा ट्याक्टरलाई तिन हजार दिएर रोपाँइ गर्ने गरेको उनले बताए ।
‘गोरु भए एक दिनको १५ सय देखि दुइ हजार सम्म दिनुपथ्र्यो, ट्याक्टरलाई एकै छिनमा सवै काम सक्छ, रोपार खोज्यो, वाउसे खोज्यो रोपाइ गर्न पनि सजिलो छ,’उनले भने । ट्याक्टरबाट रोपाइ गर्दा कम लागत पर्ने गरेको सिरानचोक गाउपालिका–४ का अमर पोखरेलले बताए । ‘अहिलेको जमाना अनुसार गोरु पाल्नुपर्ने अवस्था होइन, कृषि लाई आधुनिकरण तर्फ उन्मुख भइसकेको छ, रोपाइ मात्र ट्याक्टर मार्फत गर्न पाउदा पनि सजिलो भएको छ,’ उनले भने । भुसुण्डे फाँटमा पाँच वर्ष यता ट्याक्रको प्रयोगबाट खेत जोत्ने र रोपाइ गर्ने प्रचलन वढेको उनले बताए । किसानले साना गराहरु मिसाएर ट्याक्टर लान मिल्ने बनाएका छन् । घरपिच्छे गोरु पालन हुने चोरकोटेमा यतिखेर गोरु पाल्ने किसानको संख्या पनि घटेको छ ।
खेतीमा सुख खोज्दा गोरु पाल्नेको संख्या घटेको स्थानीय धननारायण कुमालले बताए । ‘बर्षभरी गोरु पाल्न भन्दा एक पल्ट ट्याक्टर मगाउन सजिलो मान्छन्,’ उनले भने,‘नयाँ÷नयाँ विउ आयो, प्रविधि आयो, परम्परागत कुरा विर्सिएर नयाँ कुरामा मान्छेले मन गएको छ ।’ ट्याक्टरको प्रयोगबाट खेत रोपाइ गरिएको खेतमा भने झार चाडो उम्रने गरेको किसानहअरु बताउछन् । ‘गोरुले जोत्दा, हिल्याउदा दिन विराएर काम हुन्थ्यो, झार कुहिन्थ्यो, ट्याक्टरले एकै दिनमा सवै काम गर्दा झार मर्न पाउदैन,’ उनले भने ,‘गोरु पाल्दा मल हुन्थ्यो, खेतवारीमा हाल्न पाइन्थ्यो, अहिले गाइ गोरुको मल भन्दा रासायनकी मल हाल्नमै जोड छ ।’
बैशाख दोस्रो साता यता पशुवस्तुमा लम्पी स्कीन देखिएको छ । लम्पीस्कीनले गोरु विरामी परेपछि किसानका रोपाइ प्रभावित वनेको छ । गोरुबाट रोपाइ हुने अजिरकोट, वारपाक सुलिकोट लगायतका पहाडी क्षेत्रका रोपाइ प्रभावित भएको कृषि ज्ञान केन्द्रले बताएको छ । लम्पीस्कीनले गोरु विरामी परेपछि किसान हाते ट्याक्टरको माग समेत गरेका छन् । रोपाइको चटारोमा रहेका बेला लम्पीस्कीनले गोरु विरामी पर्ने र मर्दा किसान चिन्तीत छन् ।