ग्रामिण सडक हिलाम्मे
ग्रामिण सडक हिलाम्मे
गोरखा ः जिल्लाका अधिकाशं ग्रामिण सडक हिलाम्मे वनेका छन् । सानो पानी पर्दा पनि पहिरिने, खाल्डाखुल्डीमा पानी जम्ने समस्याले आउजाउमा सकस थपिएको छ ।
शहिद लखन गाउपालिकाको नाम्जुङ–घैरुङ र तिनमाने–लुदिखोला खण्डको ठाउँ÷ठाउँमा पानी जमेका छन् । हिलाम्मे सडकमा मोटरसाइकल लगायतका सवारी चिप्लने जोखीम वढेको छ । ‘असार लागेदेखि नै सडकको दुरअवस्था छ, पिच रोड सकिएर नाम्जुङ लागेदेखि घैरुङ सम्म सवारीलाई मात्र होइन पैदलयात्रु हिड्न पनि हिलोले गाह्रो भएको छ,’ घैरुङकी सिता श्रेष्ठले भनिन् ।
घर अगाडीको सडकको दुरअवस्था भनिसाध्य नभएको उनले बताइन् । हिउदभरी धुलोले आजित वनेका स्थानीय वर्खा लागेसँगै हिले बाटोले समस्यामा परेका छन् । मध्यपहाडी अन्तरगतको मसानेपाटी–ठाटीपोखरी, निवेल खण्ड, पन्थडि कटहरे हर्मी तथा भिमसेन थापा, आरुघाट, धार्चे गाउपालिकाका ग्रामिण सडकमा वढी मात्रामा पानी जम्ने र हिलाम्मे हुने समस्या रहेको स्थानीय बताउछन् ।
सडकमा साना÷ठुला सवारी फस्ने पनि समस्या रहदै आएको छ । वाटो अप्ठारो हुदा दुइ घण्टाको यात्रामा पुगीने ठाउँलाई चार घण्टा सम्म लाग्ने गरेको छ । ठेक्का लागेको वारपाक, मध्यपहाडी, घ्याम्पेशाल÷ ताकु सडक खण्डको काम ठेकेदारले समयमै पुरा नगर्दा स्थानीयवासीले समस्या झेल्दै आएका हुन् । आरुघाट,भिमसेन थापा र शहिद लखन गाउँपालिकाले वर्खालाई लक्षित गरि सडक हेरालु पनि राखेका छन् ।