आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न आग्रह
आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न आग्रह
सुरुवात ः यतिबेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।
भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताए । ‘हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ,’ उनले भने ।
आँखा पाक्ने रोग (पिङ्क आइ डिजिज) विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उनले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताए । ‘एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रुपमा हामीले यसलाई लिएका छौँ,’ उनले भने । यो रोग एकबाट अर्कोमा नजिकको सम्पर्क (क्लोज कन्ट्याक्ट) भएको ठाउँमा सर्ने डा सुवेदीले बताए ।
‘छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भिडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्कोमा सजिलै सर्ने बढी सम्भावना रहन्छ,’ उनले भने । यो रोग एक जनाबाट अर्कोमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने जनाउँदै उनले तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने जानकारी दिए ।
‘बिरामी पहिलो पटक हामीकहाँ आउँदा आँखा बिझायो, बिहान उठ्दा आँखा सुनिएको देखियो, आँखा कचेराले टालियो, आँसु बढी आयो, उज्यालोमा हेर्न गाह्रो भयो भन्ने लक्षण लिएर आउनुहुन्छ,’ उनले भने । सुरुमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उनको भनाइ छ ।
आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी (कर्निया) मा मसिना–मसिना घाउ गराउन सक्ने उनले जानकारी दिए । उनले भने,‘ आँखा पाकेको बिरामी देख्नुभयो भने त्यसबाट स्वस्थ मानिस टाढै बस्नु राम्रो रहन्छ ।’