परिक्षण गराएका मध्ये ६० प्रतिशतमा आँखा पाक्ने समस्या
परिक्षण गराएका मध्ये ६० प्रतिशतमा आँखा पाक्ने समस्या
गोरखा ः जाँच गराएका मध्ये ६० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ । गोरखा लायन्स सेवा केन्द्रमा एक साताको अवधिमा चार सय ९३ जनाले आखा परिक्षण गरएकोमा दुइ सय ९५ जनामा आँखा पाक्ने रोगको समस्या देखिएको छ ।
केन्द्रमा पछिल्लो समय आँखा जाँच गराउन आउनेको संख्या पनि वढेको केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए । आँखा पाक्ने रोगको सङ्क्रमण प्रकोपको रुपमा फैलिएको छ । हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन्छ ।
यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन डाक्टरको सुझाव छ । डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न डाक्टरको आग्रह छ ।