केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटियो
केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटियो
सुरुवात ः केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टी आर–४ नेपालमा पहिलो पटक भेटिएको छ।
पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । पानामा ढुसीका ४ प्रजातिमध्ये केराका लागि खतरनाक मानिएको टी आर ४ कैलालीको टिकापुरका व्यावसायिक केरा बगैँचामा भेटिएको पुष्टि भएको छ ।
कृषि वैज्ञानिकको एक टोलीले एक महिना लगाएर टिकापुरका नौ जना किसानको बगैँचामा आठ हजार बोटमा अवलोकन गरेको र नमुना हङकङ पठाएको थियो । नमुनाबाट टी आर ४ नामक हानिकारक ढुसी प्रजाति केरामा लागेको पुष्टि भएको नार्कका बाली रोग वैज्ञानिक डा रामबहादुर खड्काले जानकारी दिए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले अन्वेषण गरी यस्तो तथ्य पत्ता लागेको वैज्ञानिक डा खड्काले बताए । नेपालको रैथाने केरा मालभोग रहेपनि अहिले व्यावसायिक रुपमा भइरहेको केरा खेतीको ७०–८० प्रतिशत हिस्सा ‘जी नाइन’ जातको केरा छ ।
वैज्ञानिकहरुले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो । भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा पहिलो पटक पुष्टि भएको डा खड्काले बताए ।
नार्कका वैज्ञानिकहरुका अनुसार नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । यो प्रजातिमा नयाँ रोग लागे केराको पुराना पातको फेद कुहिने र धेरै फैलिएपछि बोट ढल्ने हुन्छ । यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने विज्ञले बताएका छन् । अहिल्यै रोग नियन्त्रण गर्न नसके नेपालमा व्यावसायिक केरा खेती मासिने जोखिम रहेको डा खड्काले बताए ।
रोग पुष्टि भएपछि नार्कमा आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिईएको छ । तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्न र त्यहाँबाट हुने ओसार पार तथा मानवीय गतिविधि रोक्न, किसानलाई आवश्यक जानकारी दिन पनि अनुरोधगरिएको छ ।