३४१ मेगावाटको बुढीगण्डकी निर्माण गर्ने, २०८५ चैतदेखि उत्पादनको लक्ष्य
३४१ मेगावाटको बुढीगण्डकी निर्माण गर्ने, २०८५ चैतदेखि उत्पादनको लक्ष्य
टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बुढीगण्डकी अर्ध–जलाशययुक्त आयोजना निर्माण गर्ने भएको छ । गोरखाको चुम नुब्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।
कम्पनीले सम्भाव्यता अध्ययन सकेर आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै विद्युत विकास विभागमा निवेदन दिएको थियो । विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै विभागले आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय÷सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।
प्रस्तावित आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय) प्रकृतिको आयोजना हो । यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहेको छ । दैनिक ५ घण्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ । आयोजनाले वार्षिक सरदर १८३७.१६ गिगावाट घण्टा बिजुली उत्पादन गर्न सक्छ । आयोजनाको मुख्य संरचनाहरु बुढीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुनेछन् । ६ हजार ८४२ मिटर मुख्य सुरुङमार्ग निर्माण गरिनेछ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारणलाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ । २०८५ चैतदेखि व्यवसायिक उत्पादनको लक्ष्य छ ।