सोति–माछाखोला सडकको मर्मत शुरु
सोति–माछाखोला सडकको मर्मत शुरु
गोरखा ः बर्खा लागेसँगै अवरुद्ध वनेको सोति–माछाखोला सडक सुचारु गर्न मर्मत शुरु भएको छ ।
तिन दिन देखि उत्त सडकको सफाई शुरु गरिएको हो । बर्खाले सडकमा खाल्डा खुल्डी पर्ने,पहिरो जाने तथा ढुङ्गा खसेर सडकमा सवारी आउजाउमा सकस थपिएको थियो । पानी पर्न कम भएसँगै अहिले सडक मर्मत थालिएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । बर्खा लागेसँगै धार्चे गाउँपालिका–७ नौलीखोलामा सडक धसिदा सवारी कट्न सकेका थिएनन ।
छेपारे खोला, सोति–अर्मला लगायतका ठाउँमा अहिले वाटो मर्मत भएको छ । खानीवेसीमा खसेको पहिरोले पनि आउजाउ प्रभावित बनेको थियो । उत्त सडक भएर धार्चे गाउँपालिकाको माछाखोला, उहिया तथा चुमनुव्री गाउँपालिकाका स्थानीयवासीलाई आउजाउमा समस्या पर्दै आएको थियो । वुधबारसम्म सोतिबाट नौलीखोला सम्मको सडक सफाई सकिएको छ ।
नौली खोलामा भासिएको सडक मर्मतको काम भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘अव नौलीखोलामा सडक मर्मत सकेर खानीवेसीको पहिरो पन्छाउने काम शुरु हुन्छ,’ उनले भने । खानीवेसीमा गत आइतबार पहिरो खस्दा पैदलयात्रीलाई पनि आउजाउमा समस्या थपिएको थियो । उत्त ठाउँमा पैदलयात्रीलाई आउजाउका लागि भने वैकल्पीक वाटो निर्माण गरिएको गुरुङले बताए । एक व्रेकर र एक स्काभेटरको सहायताले वाटो सफाई भइरहेको छ ।
‘काम भइरहेको छ, जिपहरु चल्ने तवरले नै वाटो मर्मत भइरहेको छ,’ उनले भने । हिउँदमा माछाखोला सम्म पुग्ने सार्वजनिक यातायात र जिपहरु वर्खा लागेसँगै नौलीखोलाबाट कट्न सकेका थिएनन् ।