डेंगुबाट ६२ र स्क्रव टाईफसबाट ३४ संक्रमित
डेंगुबाट ६२ र स्क्रव टाईफसबाट ३४ संक्रमित
गोरखा ः जिल्लामा डेंगु संक्रमितको संख्या ६२ पुगेको छ । सवै भन्दा वढी गोरखा नगरपालिकामा ५२ जना डेंगुका संक्रमित छन् ।
भिमसेन थापा गाउँपालिकाको ८ जना, र शहिद लखन गाउँपालिकाको दुइ जनामा पनि डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । साउन लागेसँगै जिल्लामा डेंगुबाट संक्रमितको संख्या वढ् थालेको थियो ।
डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । दिनहुँ जसो पानीपर्ने र घाम लाग्ने हुँदा डेंगी फैलाउने लामखुट्टेका लागि उपयुत्त मौसम तयार हुने हुँदा संक्रमण फैलाउन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । साउन देखि कात्तिक सम्म अधिक मात्रामा डेंगुको संक्रमण फैलने गर्छ ।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।
खासगरि वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् । त्यस्तै जिल्लामा स्क्रव टाईफस संक्रमितको संख्या पनि ३४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिका भित्रका ३० जना र सिरानचोक गाउँपालिकाका ४ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको हो ।