कविता : शिक्षकलाई न्याय देऊ
कविता : शिक्षकलाई न्याय देऊ
लेखक : भरत केवट, भवानी मा.वि. मान्बु, गोरखा
राणाकाल फाल्यौँ पञ्चायत ढाल्यौँ कुप्रथा हटायौँ
ज्ञानको ज्योति बालेर यहाँ साक्षरता बढायौँ
जवानी सारा बितायौँ आज शिक्षण पेशामा
बस्यौँ नि हामी राज्यले दिने न्यायको आशामा
शिक्षक हामी भविष्य कोर्यौँ नेपाल देशको
राज्यले पनि बुझेन पीडा आफ्ना यी गुरुको
मन्त्री र नेता कर्मचारी ज्ञाता जन्माउने हामी हो
विधेयक भित्र हामीलाई आज विभेद किन भो
शिक्षक हामी न्यायका लागि सडक उत्रेको
शिरमा आफ्नो कफन बाँधी अगाडि बढेको
राज्यले हाम्रो माग र मुद्दा बेलैमा सुन्नुपर्छ
सुनेन भने हामीले अब विकल्प खोज्नुपर्छ
यो शिक्षा विधेयक हितमा छैन शिक्षक जनको
संशोधन गरी अगाडि बढ्ने चाहाना सबको
शिक्षक पीडा नबुझ्ने कुरा नगर सरकार
शान्तिको बाटो प्रयोग गरी माग्दछौँ अधिकार
जायज मुद्दा सुन्नु है पर्छ नसुनी हुँदैन
शिक्षाको क्षेत्र बनाए ध्वस्त मुलुक बन्दैन
होस्टेमा हैँसे गरेर आज दबाब दिनु छ
सबैलाई अट्ने शिक्षाको ऐन बनाए पो हुन्छ
ती हामी दुई कर्मचारी शिक्षक रास्ट्रका सेवक
सुविधा वेतन उनको र हाम्रो किन भो फरक
शिक्षक हामी सम्पूर्णलाई सिकाउने कखरा
सत्तामा पुगी गर्जिने को हुन् गर्दैछन् नखरा
शिक्षक बाँचे ज्ञानको दीप बाल्नेछन् देशमा
शिक्षक माथि नगर दमन दानव भेषमा
आन्दोलन् हाम्रो चाहना हैन यो त हो बाध्यता
तोडिएला घेरा तर तोडिदैन् शिक्षक एकता
शिक्षण पेशा यहाँको हाम्रो सम्मानित बनाऔँ
विधेयक भित्र छिरेर हामी सहमति जुटाऔँ
समाज स्वच्छ निर्माण गर्न शिक्षक सघाए
आज ती आफ्नो अधिकार माग्दा शासक डराए
शिक्षकको पेट रहेमा भोको हुँदैन प्रगति
शिक्षक न्याय नपाए सम्म बन्दैनन् सन्तति
शान्तिको बाटो रोजेर हामी गर्दैछौँ क्रान्ति
नपाए हक यो हाम्रो तन लिदैन विश्रान्ति
सराप लाग्ला तैँ पापी लाई शिक्षक रुवाए
तेरो नि भलो हुँदैन कैले गुरुलाई झुक्याए
जन्मायो जसले उसैलाई बिर्से इतिहास धिक्कार्ला
शिक्षक आज नपाए न्याय संसारले धिक्कार्ला
समाप्त