पैसाको लेनदेनमा महोत्सवको विवाद मिलेको चर्चा
पैसाको लेनदेनमा महोत्सवको विवाद मिलेको चर्चा
गत असोज २३ देखि कात्तिक ३ सम्म चलेको लोकदोहोरी महोत्सवको आयोजक सँग फेन्सी ब्यवसायी संघले रकम लिएको चर्चा चुलिएसँगै प्रशासनको समेत चासो राखेको छ ।
गोरखाः गत असोज २३ देखि कात्तिक ३ सम्म हरमटारी रंगशालामा भएको लोकदोहोरी महोत्सवको आयोजक सँग फेन्सी ब्यवसायी संघले दुइ लाख ५० हजार रुपैयाँ लिएको चर्चा चुलिएसँगै प्रशासनले चासो राखेको छ । प्रशासनले एक साता अघि फेन्सी ब्यवसायी सँघका पदाधिकारीलाई कार्यालयमै वोलाएर रकम लेनदेनको चर्चा वारे चासो राखेको हो ।
दशैको सम्मुखमा भएको मेलामा फेन्सीका सामाग्री नराख्न माग राख्दै दवाव वढाएको फेन्सी ब्यवसायी अन्त्यत आयोजक सँग रकम लेनदेनमा चुकेको स्रोतको दावी छ । महोत्सवको मिति घोषणा देखि नै फेन्सी ब्यवसायी र आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान विच विवाद शुरु भएको थियो । ब्यपारको सिजन मानिने दशैका वेला महोत्सव स्थलमा फेन्सीका सामाग्री राख्दा सटर भाडामा वस्ने ब्यपारीहरु मारमा पर्ने भन्दै फेन्सी ब्यवसायीले गोरखा नगरपालिका, प्रशासन, प्रहरी सम्म पुगेर महोत्सव स्थलमा फेन्सीका सामाग्री नराख्न पटक÷पटक ज्ञापन पत्र वुझाएका थिए ।
महोत्सव शुरु भएपछि पनि विवाद नसुल्झीएपछि नगरपालिका तथा प्रशासनको रोहरवरमा वसेको वार्तामा दुवै पक्षले १३ वटा फेन्सीका सामाग्री राख्ने सहमित जनाएका थिए । तर महोत्सव शुरु हुँदा स्थलको स्टलमा २२ वटा फेन्सीका सामाग्री राखेपछि पुन आयोजक र फेन्सी ब्यवसायी विच विवाद वढेको थियो । फेन्सी ब्यवसायीको जिम्मेवार ब्याक्तिकै अगुवाइमा असोज २२ गते महोत्सव स्थल पुगेको टोलीले स्टलमा रहेका फेन्सीका सामाग्री यत्रतत्र फालिदिएका थिए । ‘स्टलका सामाग्री फालेपछि फेरि विवाद वढ्यो, वार्तामा वस्यौँ, २२ वटा स्टल वसिसकेको थियो, स्टल घटाउने कुरामा भन्दा पनि त्यसपछि आर्थिक कारोवारको कुरो आयो,’ स्रोत भन्छ,‘धेरै झन्झट गर्नुभन्दा पनि उहाँहरुले मागे वमोजिमको पैसा दिए लफडा नहोला भनेर पैसा नै दिएका हौँ ।’
संघका अध्यक्षको रोहवरमै रकम दिएको आयोजक संस्थाका एक सदस्यले बताए । आयोजक लोकदोरी प्रतिष्ठान जिल्ला शाखा गोरखाले दुइ लाख ५० हजारको चेक दिदाँ पनि फेन्सी ब्यवसायी सँघका जिम्मेवार पदाधिकारीले नगद नै दिन आग्रह गरेको पनि स्रोतको दावी छ । ‘चेक दिन खोजेका थियौँ, क्यास नै दिन भनेपछि टिकटबाट उठेको पैसामा बल्ल तल्ल थपेर दुइ लाख ५० हजार पु¥याएर दियौँ,’ स्रोत भन्छ । लोक दोहोरी महोत्सव आयोजक समितिका संयोजक शिव केसीले भने आर्थिक लेनदेनको विषयमा खुलाउन चाहेनन् ।
फेन्सी ब्यवसायी संघका जिम्मेवार पदाधिकारीले आर्थिक कारोवारमा विवाद मिलाएको खुलेपछि बजार क्षेत्रमा यसवारे चर्चा चुलिएको छ । एक साता अघि प्रमुख जिल्ला अधिकारीले समेत फेन्सी ब्यवसायी संघका अध्यक्ष सहितको टोलीलाई जिल्ला प्रशासन कार्यालय वोलाएर रकम लेनदेनवारे चासो राखेका छन् । ‘ब्यवसायीले घाटामा जान्छौ भनेपछि विवाद समाधानका लागि छलफल ग¥यौ, अहिले आएर फेन्सी ब्यवसायीले पैसा लिएको भन्ने सुनियो,’ प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने,‘यस विषयमा के भएको हो भनेर उहाँहरुलाई सोधका छौँ, हामीले यथार्थ कुरा के हो भन्नका लागि पनि भनेका छौँ ।’ फेन्सी ब्यवसायी संघका अध्यक्ष सुवास मल्लले भने महोत्सव आयोजक सँग रकम नलिएको बताएका छन् । आज (सोमबार) फेन्सी ब्यवसायी संघको पुर्ण वैठक वसेर यस विषयमा थप खुलाउने उनले बताए ।