आर्थिक लेनदेनको विषयमा सत्यता नभएको फेन्सी ब्यवसायी संघको दाबी
आर्थिक लेनदेनको विषयमा सत्यता नभएको फेन्सी ब्यवसायी संघको दाबी
गोरखाः आर्थिक लेनदेनमा महोत्सवको विवाद मिलेको चर्चा चुलिएसँगै फेन्सी ब्यवसायी संघ आलोचित वनेको छ । असोज २३ देखि कात्तिक ३ गते सम्म हरमटारी खेलकुदमैदानमा भएको लोकदोहोरी महोत्सवबाट दुइ लाख ५० हजार रुपैया फेन्सी ब्यवसायीले लिएको समाचार सोमबार सार्वजनिक भएको थियो ।
संघले महोत्सव आयोजक सँग रकम लिएर विवाद मिलेको समाचार सार्वजनिक भएसँगै सोमबार वसेको फेन्सी ब्यवसायी संघको वैठकले ‘आर्थिक लेनदेन’ को विषयको समाचारमा सत्यता नभएको दावी गरेको छ । यद्यपी संघका अध्यक्षको रोहवरमै रकम वुझाएको लोकदोहोरी गित प्रतिष्ठानले स्वीकार गरिसकेको छ । सोमबार संघले निकालेको विज्ञप्तीमा भने ‘आर्थिक लेनदेन’ विषयको समाचार प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
‘असोज २३ गते देखी कात्तिक ३ गते सम्म गोरखा हरमटारी रंगशालामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाको आयोजनामा आयोजित वृहत लोक दोहोरी महोत्सव संचालन हुने क्रममा फेन्सी व्यवसायी संघ, गोरखा र आयोजक विच भएको विवादलाई लिई जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको रोहवरमा बैठक बसी समस्याको समाधान पश्चात आयोजकले सफल रुपमा कार्यक्रम सम्पन्न गरी सकेको सवैलाई अवगत छ,’ विज्ञेप्तीमा भनिएको छ,‘ उक्त विषयलाई लिएर पछिल्लो समय बजारमा आएको कुरा र सुनियोजित तरिकाले तथ्यहीन र व्यक्तिको नाम समेत किटान गरी चरित्र हत्या गर्ने अभिप्रायले समाचार आएको प्रति फेन्सी व्यवसायी संघ गोरखा घोर निन्दा गर्दछौं ।’
आर्थिक लेनदेन भनि आएको समाचार प्रति राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखालाई सत्य तथ्य सबै कुरा थाहा भएकाले बाहिर आएको भ्रामक कुराहरु प्रति आयोजक आफै जिम्मेवार रहेको पनि विज्ञेप्तीमा उल्लेख छ । लोकदोहोरी महोत्सवको आयोजक सँग फेन्सी ब्यवसायी संघले रकम लिएको चर्चा चुलिएसँगै प्रशासनले समेत चासो देखाएको छ । लेनदेनको विषयमा यथार्थ खुलाउन प्रशासनले संघलाई निर्देशन दिइसकेको छ ।