स्वास्थ्य शिविरबाट ५ सय वढी लाभान्वीत
स्वास्थ्य शिविरबाट ५ सय वढी लाभान्वीत
गोरखा ः गोरखा नगरपालिका–५ का दिवंगत वडाध्यक्ष खिलबहादुर रानाको स्मृतिमा भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा ५ शय जनाभन्दा बढीले सेवा लिएका छन् ।
रानाको स्मृतिमा राष्ट्रिय युवा संघको जिल्ला कमिटिले शिविर आयोजना गरेको हो । सुनिता स्मृति प्रतिष्ठानको सहकार्य र चरक मेमोरियल अस्पताल पोखराको प्राविधिक सहयोगमा गोरखा नगरपालिका ५ को पस्लाङ चौतारामा शुक्रवार र शनिवार शिविर भएको थियो ।
शिविरमा चरक मेमोरियल अस्पतालका विशेषज्ञ डाक्टरहरुबाट स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मुटु रोग, मानसिक रोगको परामर्श तथा उपचार सेवा उपलब्ध गराइएको थियो । यस्तै मुटुको इको, इसिजि, भिडियो एक्स रे, दिशा तथा पिसाव जाँच, सुगर जाँच लगायतको सेवा पनि निशुल्क उपलब्ध भएको राष्ट्रिय युवा संघका किरण ढकालले बताए ।
शिविरमा २ शय ३ जनाले भिडियो एक्स रे, २ शय ७५ जनाले इसिजि, १ शय ३५ जनाले हाडजोर्नी र १ शय ५३ जनाले स्त्री तथा प्रसुती रोग सम्बन्धी जाँच तथा परामर्श सेवा लिएका छन् भने १ शय ७५ जनाले प्रयोगशाला सेवा लिएका संघले जनाएको छ । शिविरमा स्वास्थ्य जाँच गराउन आएकाहरुलाई आवश्यक औषधी पनि निशुल्क उपलब्ध गराइएको उनको भनाई छ ।
स्वास्थ्य शिविरमा उपचार गर्न आएकामध्ये थप उपचार आवश्यक पर्ने बिपन्न तथा असहाय बिरामीको अप्रेशन र अन्य उपचार पोखरामा निशुल्क रुपमा उपलब्ध गराइने राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष राजेन्द्र पुडासैनीले बताए । राष्ट्रिय युवा संघ नेपालका स्थायी समिति सदस्य समेत रहेका रानाको २०७९ साल कात्तिक १० गते हृदयघातका कारण निधन भएको थियो ।