परिक्षण गरिएका मध्ये अधिकाशं खानेपानीमा कोलिफर्म
परिक्षण गरिएका मध्ये अधिकाशं खानेपानीमा कोलिफर्म
गोरखा ः खानेपानीको नमुना परिक्षणको क्रममा अधिकाशंमा कोलिफर्म देखिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले मंसिर २५ गतेबाट ३० गते सम्म ५२ वटा खानेपानीको नमुना लिइ परिक्षण गरेको थियो । परिक्षण भएको ५२ मध्ये ३७ वटा खानेपानीमा कोलिफर्म देखिएको हो । स्वास्थ्य संस्था तथा विद्यालयहरुले प्रयोग गर्ने खानेपानीको नमुना गरिक्षण गरिएको थियो ।
गोरखा नगरपालिका भित्रका १७ वटा स्वास्थ्य संस्थाको १९ वटा खानेपानीको नमुना परिक्षण गर्दा १२ वटामा कोलिफर्म भेटिएको तथा ३२ वटा विद्यालयको ३३ वटा खानेपानीको नमुना परिक्षण गर्दा २५ वटामा कोलिफर्म देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अधिकाशं खानेपानीमा कोलिफर्म देखिएपछि शुद्धिकरणका तरीकाहरु अपनाई प्रयोग गर्न स्वास्थ्य कार्यालयले सुझाव दिएको छ ।
पानीको मुहानको वरिपरि दिसा–पिसाव निषेध गर्ने र नियमित सरसफाई गर्ने, मुहान संरक्षण गरी भलपानी पस्नबाट रोक्ने, नजिकका सेफ्टीट्याङ्कीवाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाईपहरुको समयमा नै मर्मत गर्ने कार्यहरु गरेर सावधानी अपनाउन सकिने स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्नीसियन नारायणवावु अर्यालले बताए । पानी प्रयोग गर्दा उमाल्ने, सोडिस, क्लोरिनेसन, फिल्टर मध्ये एक विधि अपनाएमा समुदायलाई पानी जन्य रोगहरुबाट जोगाउन सकिने बताइएको छ ।
आगामी दिनमा सम्वन्धित नगरपालिका र वडा बाट पानीको मुहान वरिपरि दिसा–पिसाव निशेध गर्ने र नियमति सरसफाई अभियान संचालनका लागि पनि सुझाव दिइएको छ । शुद्धिकरणका उपायहरु प्रयोग गरेर पानी प्रयोग गर्न पनि आग्रह गरिएको छ । नगर क्षेत्रमा भएका खानेपानी नमुना परिक्षणको रिपोट आइतबार गोरखा नगरपालिकामा पठाइएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।