४१ हजार १३ मेट्रीक टन वर्खे धान उत्पादन
४१ हजार १३ मेट्रीक टन वर्खे धान उत्पादन
गोरखा ः यस वर्ष ४१ हजार १३ मेट्रिक टन बर्खे धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र गोरखाका अनुसार नौ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलबाट ४१ हजार १३ मेट्रिक टन धान उत्पादन भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल भने घटेको छ । गत वर्ष १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा भएको धान खेतीबाट ३९ हजार नौ सय मेट्रिक टन धान उत्पादन भएको थियो । ‘धान उत्पादनको क्षेत्रफल घटेपनि उत्पादन भने वढेको छ,’ कार्यालयका सुचना अधिकारी प्रमोद गैरेले भने ।
७ प्रतिशतले धान उत्पादनको क्षेत्रफल घटेको उनले बताए । विभिन्न प्रविधि भित्रदा तथा उन्नत जातको विउको प्रयोग वढ्दा उत्पादन वढेको ज्ञान केन्द्रले जनाएको छ । सिचाई असुविधा, वसाइसराइको दर वढ्दा कतिपय किसानका खेत वाझै छन् । गाउँमा श्रम गर्ने जनशक्ति नहुँदा पनि जग्गा वाझिने क्रम वढेको छ ।
जिल्लाका किसानले मकवानपुर, राम, सुख्खा २ सावित्रि, शंखर लगायतका धान खेती गर्दै आएका छन् । काक्तिक अन्तिम साताबाट जिल्लाका किसानलाई धान थन्काउने चटारो शुरु भएको थियो । दरौदी,सिर्दि, भुसुण्डे, विर्दि, चेपे फाँट लगायतका क्षेत्र धान खेतीका लागि प्रख्यात छ । पछिल्लो समय यहाँका किसानले थ्रेसरको प्रयोगबाट धान थन्काउने गरेका छन् ।
दाइँ गर्ने प्रचलन हराउदै गएको छ । छिटो र सहज तवरले धान थन्काउनका लागि पनि थ्रेसरको प्रयोग सहज वनेको किसानहरु बताउछन् । गाउँमा ज्यालामा कामदार पाउनै गाह्रो परेकाले पनि प्रविधिको प्रयोग गर्नू वाध्यात्मक वनेको किसान बताउँछन् ।