पाङसिङसम्म जिप चल्न शुरु
पाङसिङसम्म जिप चल्न शुरु
गोरखा ः चुमनुव्री गाउपालिका–३ को पाङसिङ सम्म जिप चल्न शुरु भएको छ ।
अघिल्लो वर्ष घट्टेखोला सम्म मात्र जिप पुगेको थियो । आइतबारबाट पङसिङ सम्मै जिप चल्न शुरु भएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाको उपस्थितिमा जिप सेवाको सुचारु गरिएको छ । माछाखोलाबाट पाङसिङ सम्म नियमित जिप सेवा सुचारु हुन थालेसँगै उत्तरी क्षेत्रका स्थानीयलाई सहज बन्ने छ ।
सवारी संचालनका लागि सडक आठ मिटर फराकिलो वनाइएको नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले जानकारी दिए । लार्के सडक खण्ड अन्तरगत हावाडाडाबाट पाङसिङ सम्मको ३५ किलोमिटर क्षेत्रको ट्रयाक खुलिसकेको उनले बताए । ‘सडक खुलेको क्षेत्रमा स्तरोउन्नती गरि सवारी संचालनमा सहज वनाएका छौँ,’ उनले भने,‘पाङसिङ भन्दा माथिको खण्डमा ट्रयाक खुल्ने काम पनि जारी छ ।’
स्थानीयको आग्रह अनुसार नै पाङसिङ सम्मको सडक स्तरोउन्नती गरी सवारी चल्न योग्य वनाइएको उनले बताए । माछाखोलाबाट पाङसिङ सम्म जिप र ट्रक चल्न शुरु भएसँगै उपभोग्य सामाग्री ढुवानीमा पनि सहज वनेको भट्टको भनाइ छ । जेठ देखि अवरुद्ध भएको सडक सफा गरेर सवारी संचालन शुरु भएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘माछाखोलाबाट पाङसिङ सम्म गाडी चल्न शुरु भयो, स्थानीय पनि खुसी छन्,’ उनले भने ।
बर्खाले सडक अवरुद्ध पार्दा झण्डै ५ महिना माछाखोला जगत खण्डमा सवारी चलेको थिएनन् । सडक सुचारुका लागि नेपाली सेनासँग समन्वय गरि सफा गरिएको उनले बताए । पाङसिङ सम्म जिप चल्न शुरु भएसँगै उत्तरी गोरखा अन्तरगतको सामागाउँ, ल्हो, प्रोक, विहि, सिर्दिवास, चुम्चेत, छेकम्पारका स्थानीयवासीलाई आउजाउमा सहज वन्ने छ । सवारी नचल्दा यहाँका स्थानीय पैदल आउजाउ गर्दै आएका थिए । उपभोग्य सामाग्री पनि खच्चड मार्फत ढुवानी हुँदै आएको छ ।