गोरखाका एक प्रधानाध्यापक चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर
गोरखाका एक प्रधानाध्यापक चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुरुवातः गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो ।
तीन मुद्दामा उनलाई करिव १६ लाख रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला भएको छ । चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका लागि आगामी ७ माघमा सुनुवाईको मिति तोकेको छ । तीन वर्षभन्दा बढी कैद हुनसक्ने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाई गर्नुपर्छ । त्यही दिन चौथो मुद्दाको विगो र जरिवाना निर्धारण पनि हुनेछ ।
प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए । झुटा प्रतिवेदन र बील बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो । विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो ।
अनि छात्रा शौचालयको रकम समेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेका हुन् । उनले विद्यालय व्यवस्थापन समितिको समेत नक्कली निर्णय बनाएको आरोप छ ।