लाप्राकको गुप्सीपाखामा हिउँ प¥यो
लाप्राकको गुप्सीपाखामा हिउँ प¥यो
गोरखा ः वुधबार गोरखाको हिमाली भेगमा हिमपात भएको छ ।
वुधबार दिउँसो परेको हिउँले धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा सेताम्मे वनेको छ । गुप्सीपाखा २७ सय ५० मिटर उचाईमा रहेको छ । ६ सय घर धुरीको एकीकृत वस्ती गुप्सीपाखा हिउँले ढाकेसँगै मनरोम देखिएको स्थानीयले बताए ।
वुधबारबाटै गुप्सीपाखामा हिउँ खेल्न आगन्तुक जान थालेका छन् । ‘साँझ सम्मै हिउँ प¥यो, हिउँले वस्ती ढाकेपछि मनोरम देखिएको छ,’ स्थानीय सन्त वहादुर गुरुङले भने,‘यो वर्ष वस्ती नै सेताम्मे हुने गरि पहिलो पटक हिउँ परेको हो, हिजो अस्ती अलि अलि मात्र परेको थियो ।’
गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकनाशका घर निर्माण गरेको छ । हिउँ परेसँगै वस्ती सुन्दर देखिएकाले हिउँ खेल्न आउनेको संख्या वढ्ने स्थानीयको विश्वास छ । ‘आज हिउँ प¥यो, लगातार हिउँ परे अव पर्यटकहरु हिउँ खेल्न आउँछन्,’ एक स्थानीयले भने । गत वर्ष गुप्सीपाखामा हिउँ परेको थिएन ।
‘परार वेस्सरी हिउँ परेको थिएन, पोहोर हिउँ परेन,यस वर्ष वस्ती सेताम्मे हुने गरि हिउँ प¥यो, अझै भनेजस्तो हिउँ परेको छैन’ उनले भने । हिउँ परेसँगै चिसो पनि वढेको छ ।
लाप्राक सँगै उच्च हिमाली भेगमा पनि वुधबार हिमपात भएको छ । हिउँ परेपछि गहुँ, जौ, आलु, फापर लगायतका खेती राम्रो हुने भन्दै स्थानीय खुसी समेत वनेका छन् । हिउँ परेर चिसो वढेसँगै वृद्धवृद्धा र बालवालिका भने समस्यामा परेका छन् ।