द्रब्यशाह क्याम्पसको वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइयो
द्रब्यशाह क्याम्पसको वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइयो
गोरखा ः गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव तथा अभिभावक समारोह विविध कार्यक्रम गरि मनाएको छ । समारोहको अवसरमा क्याम्पसका ३ प्रध्यापकलाई विविध विधामा सम्मान गरिएको छ ।
विद्यावारीधी गरेका क्याम्पसका सह प्राध्यापक बद्री कुमार कार्किलाई ३ लाख नगदको साथमा प्रमाणपत्रले सम्मान गरीएको क्याम्पसका सहायक प्रमुख शरण श्रेष्ठले जानकारी दिए ।
एमफिल उपाधि प्राप्त गर्ने २ सह प्राध्यापक कृष्ण प्रसाद पराजुली र जयराम अधिकारीलाई जनही १ लाख २५ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । बार्षिक उत्सवको अवसरमा भएको विविध खेलकुद प्रतियोगीताका विजेतलाई पनि पुरस्कृत गरिएको छ । खुल्ला विद्यालय दौड प्रतियोगितामा द ओल्ड क्यापिटल माविका जोस घले पहिलो भएका थिए ।
उनले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै शक्ति माविका सुनिल तामाङ दोस्रो भएका छन् भने महिन्द्र ज्योति माविका अविशेक घले तेस्रो भएका छन् । उनिहरुले क्रमश ४ हजार र ३ हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगितामा ११ विद्यालयका २१ जनाको सहभागिता रहेको क्याम्पसका सहप्रध्यापक केशवराज रेग्मीले जानकारी दिए । क्याम्पस समिति अध्यक्ष सितलकाजी मस्केको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य किरण वावु श्रेष्ठ, गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसलि माया थोकर, वडा नम्वर ९ का अध्यक्ष कुल वहादुर कुँवर, पुर्व क्याम्पस संचालक समितिका सदस्य किशोर जंग थापा, स्ववियु सभापति सौनक घिमिरे, नेविसंघका प्रमोद जंग कुँवर, अनेरास्वियुका गणेश भट्ट, अखिल क्रान्तिकारीका अनिष अर्याल लगायतले मन्तब्य राखेका थिए ।