लामाबेशीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना
लामाबेशीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना
गोरखा ः धार्चे गाउँपालिका–२ केरौजा स्थित लामावेशीमा स्वास्थ्य इकाई स्थापना गरिएको छ ।
लामाबेशी सामुदायीक स्वास्थ्य इकाईको विहिबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरे । प्राथमिक स्वास्थ्यमा स्थानीयको पहुँच स्थापना गर्ने उदेश्यले इकाईको स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले जानकारी दिए ।
‘स्वास्थ्य सेवालाई जनताको घर दैलोमो पु¥याउने गाउँपालिकाको योजना अनुसार इकाई स्थापना गरेका हौँ,’ उनले भने । इकाईबाट लामावेशी र केरौजावेशीका १ सय ५० घर धुरीका स्थानीय लाभान्वीत वन्ने उनले बताए । इकाईमा हाल एक जना अनमीको दरवन्दि गाउँपालिकाले आन्तरिक रुपमा ब्यवस्थापन गरेको छ ।
स्वास्थ्य इकाईबाट स्वास्थ्य जाँच, गर्भवतीको परिक्षण, पोषण, परामर्श लगायतको सेवा प्रवाह हुने छ । यस अघि यहाँका स्थानीय सामान्य स्वास्थ्य सेवा लिन परे माछाखोला स्वास्थ्य चौकि पुग्नुपर्ने वाध्यता थियो । केरौजा गाउँ भूकम्प पछि पहिरोको जोखिममा परेपछि स्थानीय लामावेशीमा झरेका थिए ।
नयाँ वस्तीका स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले इकाई स्थापना गरिएको छ । वडा नम्वर २ का वडा अध्यक्ष सरोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपप्रमुख सुनिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार, स्वास्थ्य शाखा प्रमुख अमृत वहाुदर घले लगायतको उपस्थिति रहेको थियो ।