ओखर र खुर्पानीको ब्यवसायीक खेती थालियो
ओखर र खुर्पानीको ब्यवसायीक खेती थालियो
गोरखा ः जिल्लामा ओखर र खुर्पानीको ब्यवसायीक खेती थालिएको छ । कृषि ज्ञान केन्द्र गोरखाले ६५० खुर्पानी र दुइ हजार ओखरको विरुवा किसानलाई वितरण गरेको हो ।
कृषि ज्ञान केन्द्रले खुर्पानी र ओखरको ब्यवसायीक खेतीका लागि पहिलो वर्ष किसानलाई ७५ प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराएको हो । खुर्पानीको विरुवा मुस्ताङको मार्फा फर्मबाट ल्याएर किसानलाई वितरण गरिएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकन्ठ पोखरेलले बताए ।
वारपाकमा ५०० र डेड सय विरुवा धार्चे र चुमनुव्रीका किसानलाई उपलब्ध गराइएको उनले बताए । ‘८५० खुर्पानीको विरुवाको माग थियो, अहिले ६५० विरुवा किसानलाई उपलब्ध गराएका छौ,’ उनले भने,‘विभिन्न समुहहरु मार्फत विरुवा उपलब्ध गराएका हौँ ।’ त्यस्तै जुम्लाबाट ल्याइएको ओखरका विरुवा पनि किसानलाई वितरण गरिएको छ ।
ओखर खेतीका लागि हावापानी सुहाउदो रहेको धार्चे र चुमनुव्री गाउँपालिकाका किसानलाई वितरण गरिएको छ । ‘ओखर र खुर्पानीको ब्यवसायीक खेतीका लागि पहिलो पल्ट विरुवा वितरण गरेका हौँ, किसानहरुले फाट्ट÷फुट्ट खेती गरिरहेका थिए, कार्यालयको तर्फबाट विरुवा उपलब्ध गराएको पहिलो वर्ष हो’ उनले भने,‘एक डेड वर्ष विरुवा कस्तो हुन्छ हेरेर थप क्षेत्र विस्तारमा लाग्छौँ ।’
चार सय ४४ रुपैया प्रति विरुवाको दरले ओखरमा किसानलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । प्रति विरुवा ९० रुपैयाको खुर्पानी पनि किसानलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । खेती राम्रो भए काष्ठफल आयोजनाले उत्त खेतीको क्षेत्र विस्तार गर्ने छ । किसानले खुर्पानी प्रति रोपनी १५ वेर्ना तथा ओखर प्रति रोपनी २० वटा सम्म लगाउन सक्नेछन् ।