३ कर्मचारीले पाए विशेष अदालतबाट सफाइ
३ कर्मचारीले पाए विशेष अदालतबाट सफाइ
सुरुवात ःसडक नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार अनुसन्धान आयोगले मुद्धा दायर गरेका ३ कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले मंगलबार सफाइ पाएका हुन् ।
गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।
काल्पनिक डीपीआर बनाएर पुलको स्थान र डिजाइनसमेत परिवर्तन गरी कानुनबिपरीत पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्धा हालेको थियो ।