बारपाकमा निर्माणधिन स्मृति स्तभ्भको काम रोकियो
बारपाकमा निर्माणधिन स्मृति स्तभ्भको काम रोकियो
गोरखा ः बारपाकमा निर्माणाधिन भूकम्प स्मृति स्तभ्भको काम रोकिएको छ । २०७२ बैशाख १२ को भूकम्पमा परी ज्यान गुमाएकाहरुको नामावली प्राप्त नहुँदा स्मृति स्तभ्भको काम अन्तिम चरणमा पुगेर रोकिएको हो ।
भूकम्पमा परि मृत्यू भएकाहरुको नामावलीका लागि गृहमन्त्रालय लगायतका सरोकार राख्ने कार्यालय सँग ताकेता गरिएपनि नाम प्राप्त हुन सकेको छैन । स्मृति स्तभ्भमा भूकम्प अति प्रभावित १४ वटा जिल्लाका भूकम्पमा परी मृत्यू भएकाहरुको नाम राख्ने गरि स्टमेट तयार भएको छ । तर डेड वर्ष देखि नाम प्राप्त गर्न नसकिएको संघीय आयोजना कार्यन्वयन इकाई अन्तरगतको पोखराले कार्यालयका इन्जीनियर विरवल सुनारले जानकारी दिए ।
स्मृति स्तभ्भको ९५ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाई छ । अव ताम्रापत्रमा नामलेखेर स्मृति स्तभ्भमा टाँस्ने काम मात्र वाँकी रहेको जनाइएको छ । निर्माण सम्पन्न नहुँदा निर्माण कम्पनीले हस्तान्तरण पनि गर्न पाएको छैन । ०७४ मंसिर १४ गते ठेक्का सम्झौता गरेर पार्क निर्माण शुरु भएको हो । पार्क निर्माण सम्पन्न गर्न १३ करोड ७ लाख १५ हजार लाग्ने सम्झौतमा उल्लेख छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत तत्कालिन जिल्ला आयोजना कार्यान्वयन इकाइले २०७२ वैशाख १२ मा ज्यान गुमाएकाहरुको सम्झनामा पार्क निर्माण शुरु गरेको थियो ।
स्मृति पार्कमा शौचालय, खाजा घर गार्ड हाउस, तिन सय मिटर सडक कालोपत्रे, टिकट घर निर्माण लगायतका संरचना निर्माण भइसकेको छ । भूकम्पमा परी मृत्यू भएकाहरुको नाम गृहमन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदबाट निर्णय गरेर मात्र अन्तिम निर्णय गर्नुपर्ने भएकाले पनि ढिलाई भएको छ ।
स्मृति स्तभ्भमा भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प परि ज्यान गुमाएका सम्झनामा १४ वटा छुट्टाछुट्टै स्तभ्भ तयार गरिएको छ । १४ वटा स्तभ्भ माथि ग्लोव राखिएको छ । भूकम्पमा ज्यान गुमाएका सवैकोे स्तभ्भको भिक्तामा नाम लेखिने स्टमेट तयार भएको थियो ।