अजिरकोटमा ८७ करोडको लागतमा पम्पिङ खानेपानी आयोजना निर्माण हुने
अजिरकोटमा ८७ करोडको लागतमा पम्पिङ खानेपानी आयोजना निर्माण हुने
गोरखा ः अजिरकोट गाउँपामिा ८७ करोड रकम खर्च गरेर वृहत पम्पिङ खानेपानी आयोजना निर्माण हुने भएको छ ।
जलवायु अनुकूलित वृहत खानेपानी आयोजना अन्तरगत गाउँपालिकाको १ देखि ५ नम्वर वडाका स्थानीयलाई सहज हुने तवरले योजनाको निर्माण हुन लागेको हो ।
खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयनका लागि चैत ५ गते अजिरकोट गाउँपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना लमजुङ विच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष दिपक देवकोटा र सघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना लमजुङको तर्फबाट आयोजना प्रमुख नरेश रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आयोजनाको कुल लागत अनुमान ८७ करोड ७ लाख ८८ हजार २१ रुपैया रहेको छ । जसमध्ये नेपाल सरकारको तर्फले ७९ करोड ९९ हजार दुइ सय २९ रुपैया वेहोर्ने छ ।
उपभोक्ता समिति÷संस्थाको तर्फबाट आठ करोड ७७ लाख ८८ हजार दुइ सय रुपैया ब्यहोर्नुपर्ने उल्लेख छ । आयोजना निर्माण भएसँगै गाउँपालिकाको १ देखि ५ नम्वर वडाका ३५ सय वढी घरपरिवार लाभान्वित हुने छन् ।
गोरखा र लमजुङ सिमा क्षेत्रको दुधपोखरीको फेदिबाट पानी पम्पीङ गरेर वितरण गरिने छ । मुख्य पाइप लाइन मात्र ४६ किलोमिटर हुने जनाइएको छ ।
वहुवर्षिय योजना रहेको र तिन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । संरचना अन्तरगत रिजर्भ ट्याङ्की, धारा, पाइप लाईन विस्तार लगायतका काम हुने छन् ।
सिरानखोलाको मुहानबाट सिरनडाडाँ सम्म करिव ४८ किलोमिटर मुल्य पाइप लगाइन विस्तार गरि पानी खसालीने छ । आयोजना निर्माण सम्पन्न भएसँगै अजिरकोट गाउँपालिका भित्रका सवै वडाका वासिन्दा लाभान्वीत हुने छन् ।