अझै भेटिएनन् त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता भएका किशोर
अझै भेटिएनन् त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता भएका किशोर
शनिबार त्रिशुली नदीमा ट्याक्सी खसेर बेपत्ता भएका किशोर अझै भेटिएका छैनन् ।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेको थिय ।
दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो ।
१८ वर्षीय दिवस रोकाया भने बेपत्ता भएका थिए ।
शनिबार साँझसम्म उनको खोजी भएपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर, नेपाल प्रहरीको उद्दार टोली परिचालन गरिएको थियो ।
अबेरसम्म खोजी गर्दा नभेटिएपछि शनिबारको खोजीकार्य स्थगित गरिएको थियो ।
आज बिहानैबाट खोजी कार्य सुरू गरिने भनिएपनि गएरातिको वर्षाका कारण नदी धमिलो भएको र वहाब पनि बढेकाले सुरू हुन नसकेको डिएसपी ढकालले जानकारी दिए ।
‘बिहानै हाम्रो टोली नदीको अवस्था हेर्न गएको थियो । नदीको बहाब बढेको र पानी पनि धमिलो भएकाले तत्काल खोजी कार्य सुरू गर्ने अवस्था रहेन। केही समयपछि सुरू गर्छौं,’ डिएसपी ढकालले भने ।
बेपत्ता भएका किशोर शुक्रबार काठमाडौंको पशुपति आर्यघाटमा बाबुको अन्तिम संस्कार गरी परिवार तथा आफन्तसँग गोरखा फर्कँदै थिए ।
त्यसक्रममा उनी सवार ट्याक्सी दुर्घटना भई त्रिशूलीमा खसेको थियो ।