विद्यार्थी भर्ना अभियान शुरु
विद्यार्थी भर्ना अभियान शुरु
गोरखाः आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । जिल्लाको ११ वटै पालिकाका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।
५ वर्ष देखि १२ वर्ष उमेर समुहका वालवालिका विद्यालय वाहिर रहे विद्यालय ल्याउने योजना सहित अभियान शुरु भएको हो । अभियान अन्तरगत बालवालिकाहरु लाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारण देखि घरदैलो सम्मको अभियान संचालन गरिने छ ।
जिल्लाका सवै विद्यालयमा आइतबारबाट भर्ना अभियान शुरु भएको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवास आचार्यले बताए । ‘भर्ना सँगै शिक्षाको गुणस्तरमा पनि ध्यान दिने गरि अभियान शुरु भएको छ,’ उनले भने,‘भर्ना भएका विद्यार्थी पनि नियमित नपढ्ने ड्रपआउट हुने समस्या छ, त्यसतर्फ पनि ध्यान दिन भनेका छौँ ।’
आरुघाट र गण्डकी गाउँपालिकामा विशेष ढंगले अभियान संचालन हुने छ । भर्ना सँगै पुस्तक वितरण पनि भइरहेको छ । जिल्लामा हाल पुस्तक प्रयाप्त रहेको जनाइएको छ । पुस्तकका लागि पालिकाहरुले फागुन १५ भित्र विद्यालयको खातामा पैसा हाल्नुपर्ने भएपनि केहिले ढिलाई गरिरहेका छन् । केहि विद्यालयहरुले भने आफ्नै विद्यालयमा रहेको रकमबाट पुस्तक खरिद गरेका छन् ।
अभियान अन्तर्गत विद्यालयहरु र स्थानीय तहको शिक्षा शाखाले वैशाख ५ गते घरदैलो कार्यक्रम गर्ने, वैशाख १० गते विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गर्ने, वैशाख ९ गते भर्ना हुन वाँकी बालवालिकाको विवरण तयार गर्ने र वैशाख १० गते नै भर्ना भएका विद्यार्थीहरुको विवरण स्थानीय तहमा पेश गर्ने कार्ययाजना छ ।