उत्तरी गोरखामा दुइ हजार क्वीन्टल चामल ढुवानी
उत्तरी गोरखामा दुइ हजार क्वीन्टल चामल ढुवानी
गोरखाः उत्तरी गोरखाको खाद्य डिपो र विक्रि केन्द्रमा दुइ हजार क्वीन्टल चामल ढुवानी भएको छ ।
खाद्य ब्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका अनुसार चालु आर्थिक वर्ष सिर्दिवास डिपो र नाम्रुङ विक्रि केन्द्रमा कोटा अनुसारको चामल ढुवानी सकिएको छ । सिर्दिवास डिपोका लागि एक हजार र नाम्रुङ विक्रि केन्द्रका लागि पाँच सय क्वीन्टल खाद्यान्न ढुवानी सम्पन्न भएको कार्यालयका सुृचना अधिकारी शिव सुनारले जानकारी दिए । त्यस्तै चुम्लीङ विक्रि केन्द्रमा ४२१ क्वीन्टल चामल ढुवानी भएको छ । चुम्लीङका लागि पनि चालु आर्थिक वर्ष पाच सय क्वीन्टल चामलको कोटा छुट्टाइएको थियो । कोटा अनुसारको चामल ढुवानी सम्पन्न भएपछि गाउँपालिकाले कोटा थपको लागि माग गरेको छ । गाउँपालिकाको मागपत्रलाई आधार मानेर शाखा कार्यालयले कोटा थपका लागि प्रधान कार्यालयलाई अनुरोध गर्ने पनि जनाइएको छ । नाम्रुङ विक्रि केन्द्रका लागि एक हजार र चुम्लीङ विक्रि केन्द्रका लािग ५ सय क्वीन्टल चामलको कोटा थप गर्न माग भएको हो । सिर्दिवास डिपोमा चालु आर्थिक वर्ष विमलनगरबाट चामल ढुवानीको लागि भने तेस्रो पटक वोलपत्र आह्वान भएको छ । विमलनगरबाट सिर्दिवास डिपोका लागि एक हजार क्वीन्टल चामल ढुवानी हुने छ । विमलनगरबाट चामल ढुवानीका लागि यस अघि दुइ पटक सम्म ठेक्का ह्वान भएको थियो । त्यस्तै माछाखोला डिपोमा पनि यस वर्ष निर्धारित ५ सय क्वीन्टल खाद्यान्न मध्ये ९५ क्वीन्टल मात्र ढुवानी भएको छ । बजारको भन्दा कम्पनीको डिपोमा रहेको चामलको मुल्य वढी भएपछि डिपोमा ग्राहक चामल खरिदका लागि आएका छैनन । चामल विक्रि नहुँदा ढुवानी हुन नसकेको हो । सडक संजाल विस्तार भएसँगै यस क्षेत्रका स्थानीयले वजारको चामलमा रुचि देखाएका छन् । कम्पनीको सिर्दिवास डिपोमा हाल ६ सय क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ भने गोरखा शाखाको गोदाममा ४ सय क्वीन्टल मौज्दात छ । सदरमुकामको डिपोबाट सोना मसुली चामल प्रति केजी ६६, स्टिम जिरा मसिनो चामल प्रति केजी ९०, सिर्दिवास डिपोबाट सोना मंसुली चामल प्रति केजी ६७, स्टिम जिरा मसिनो चामल प्रति केजी ९२, माछाखोलामा सोना मंसुली चामल प्रतीकेजी ६६, स्टिम जिरा मसिनो चामल प्रति केजी ९० रुपैयामा विक्रि भएको छ । नाम्रुङमा सोना मंसुली चामल प्रति केजी ६८, स्टिम जिरा मसिनो चामल प्रति केजी ९२, चुम्लीङमा सोना मंसुली चामल प्रति केजी ६८, स्टिम जिरा मसिनो चामल प्रकि केजी ९२ मा विक्रि भएको छ ।