कथा ः उसले रोजेको बाटो
कथा ः उसले रोजेको बाटो
भरत केवट
एउटा सुन्दरबस्तीमा एउटा सुन्दर परिवार थियो । गाउँको नामै सुन्दरबस्ती अनि त्यो गाउँका मानिसहरु कृषि पेशा जस्तो पवित्र अनि सुन्दर पेशामा आश्रति थिए । त्यही गाउँमा एउटा राममिलनको सानो परिवार बस्थ्यो । राममिलनको सपना भने ठूलो थियो । उनी गाउँका भद्र मानिसमा गनिन्थे । उनकी धर्मपत्नी फूलमती धार्मिक एवम् आध्यात्मिक चिन्तनकी थिइन् । भक्तीभजनमा निकै नै रुचि थियो । दुबै दम्पतीहरु पुजापाठ, भजनकीर्तन, दानपुण्यका धार्मिक कार्यहरुमा बराबर सहभागी हुन्थे । दुई छोरा महेन र नरेन, दुई छोरी उषा र नन्दिका गरी चार सन्तान थिए ।
वाणगङ्गा नदीको तटमै उनीहरुको खेतबारी थियो । नदीकटानले गर्दा धेरै जसो मानिसहरुको नम्बरी जग्गामा खोला बगिरहेको थियो । उनीहरुको खेतमा पनि खोला नपसेको होइन । खोलावारि उनीहरुको घर खोलापारि खेत जहाँ बर्खा मासमा खोलाले तान्डव देखाउँथ्यो । आवतजावत गर्न असाध्यै सकस हुन्थ्यो । गाउँका अधिकांश मानिसहरु पौडी खेल्न सिपालु थिए । पौडीबाजहरु माछाझैँ सलल्ल पौडेर खोला वारपार गर्थे। पौडी खेल्न नजान्ने ,केटाकेटी अनि महिलाहरुलाई असाध्यै कठिनाइ हुन्थ्यो तथापि उनीहरुको दीनचर्या चलेकै थियो । राममिलनले धेरै लेखपढ गरेका थिएनन् तर उनको इमान्दारिता, कर्तव्यपरायणताले गर्दा एक जना जिल्ला बनकार्यालयका हाकिमले सामान्य स्तरको जागिर लगाइदिने भनेर सहर लैजानुभएको थियो ।
उनले सहरको साँगुरो गल्लीभित्र बस्न,सहरको कोलाहल, प्रदूषण, छलछाम, कृतिमता, मानवता हराएको त्यो नियंत्रित परिवेशमा आफूलाई ढाल्न नसकेर जागिर नखाने भनी भागेर गाउँ आए । सहरमा घरखेत किनिदिन्छु सहर बस्नु अनि सरकारी जागिर लगाइदिन्छु हाकिमले भनेका थिए तर राममिलनले उहाँको प्रस्तावलाई ठाडै अस्वीकार गरेर घर आएका थिए ।
हाकिमले गाउँको अल्लारे केटो हो यहाँको वातावरणमा समायोजन हुन सकेन होला फेरि एकपटक लिन जान्छु, अनुरोध गर्छु, बिचराहरु गरीब छन् राममिलनलाई जागिर लगाउन सकियो भने उसलाई आफ्ना छोराछोरी पाल्न सहज हुन्छ भनेर एकपटक घरमै आएर अनुरोध गर्दा पनि राममिलनले हाकिमको कुरा मानेनन् । आज समय कहाँदेखि कहाँसम्म आइपुग्यो । जागिर कसैले खोजदिने अनि लगाइदिने त परका कुरा हुन् । आफू सक्षम र योग्य भए पनि स्वदेशमा जागिर पाउन निकै मुस्किल भैसकेको छ । बेरोजगारीका कारण मानिस विश्वका विभिन्न मुलुकहरुमा भौँतारिएका छन् ।
“के गरीस् मङ्गले आफ्नै ढङ्गले भनेझैं बुढा अहिले साठी वर्ष उमेर काटिसके अहिले पुर्पुरोमा हात राखेर पछुताउछन् । समय आउँछ पर्खिदैन बगेको खोलो फर्किदैन भन्थे सत्य रहेछ । समयभन्दा बलवान् को नै छ र ? यस दुनियाँमा भन्ने शिक्षा बुढाले आजभोलि बाँड्दै हिड्छन् । आफू गरिब र विपन्न पारिवारिक पृष्ठभुमिमा हुर्किए पनि राममिलन आफ्ना छोराछोरीलाई उच्च स्तरकै शिक्षा दिन चाहन्थे।राम्रै संस्कार दिएर हुर्काएका थिए । उनले सबै सन्तानलाई राम्रै शिक्षादीक्षा दिने चाहना बनाएका थिए । समयले बुढालाई शिक्षाको महत्व बारेको पाठ राम्रैसङ्ग सिकाएको थियो । उनले आफ्नो जेठो छोरो महेन्द्रलाई गाउँकै स्कुलमा भर्ना गरेका थिए । छोरो पढाइमा मध्यम स्तरकै थियो ।
छोरो महेन्द्रले नौ कक्षा पढ्दा पढ्दै साथीहरुको लहैलहैमा लागेर भारततिर बरालिएको थियो । रामवदन भारतमा काम गथ्र्यो उसले नै ललाइफकाइ गरेर धन कमाउनका लागि महेनको कान भर्ने काम गरेको थियो । राममिलनले यो उमेरमा पढ्ने हो धन त पछि कमाउने हो भनी सम्झाउदा नमानेर छोरो रामवदनसँग भारत गएको थियो । बरालिएको छ ोरो भारतमा हन्डर खायो । अभाव र दुःखले मानिसलाई ठूलो शिक्षा र चेतना दिदो रहेछ । आएर पुनः दस कक्षामा भर्ना भइ आफ्नो अध्ययनलाई निरन्तरता दिन थाल्यो । आफू नमरी स्वर्ग देखिँदैन भनेझैँ ऊ भारतबाट फर्केपछि कडा मिहिनेत गरेर पढ्न थाल्यो ।
प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्यो । शिक्षाशास्त्र लिएर स्नातक तह पनि उत्तीर्ण गर्यो।लगत्तै शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि परीक्षा आवेदन खुलायो । महेनले परीक्षामा सहभागी भइ परीक्षा उत्तीर्ण गर्यो । अर्को वर्ष शिक्षकसेवा आयोगले स्थायी शिक्षकका लागि विज्ञापन खुलायो । सुदुरपश्चिम क्षेत्रबाट उसले प्राथमिक ,निम्नमाध्यमिक र माध्यमिक गरी तीनै तहमा आवेदन दियो । तीनै तहको लिखित परीक्षामा उसको नाम निस्कियो तर ऊ प्राथमिक तहको शिक्षक पदमा सिफारिस भयो । उसको घरमा खुसीको दीप बल्यो ।
घरमा कुनै सरकारी जागिर थिएन आज उसको घरमा सरकारी जागिर भित्रिएपछि घर उज्यालिएको थियो । आमाबाबाका मलिन अनुहारमा खुसीको चमक चढेको थियो । सुर्खेतमा एक वर्ष शिक्षण गर्यो त्यसपछि त ऊ आफ्नै गाउँको माध्यमिक विद्यालयमा सरुवा भइ आयो । अहिले त उसलाई घरमै जागिर भएको छ । महेनले आफ्ना भाइबहिनीहरुलाई पनि सरकारी जागिरे बनाउन चाहन्थ्यो । महेन आफू घरको जेठो सदस्य भएको नाताले सबैलाई मिहिनेत गरेर पढ्नुपर्नेमा जोड दिन्थ्यो। उसकी बहिनीहरु पढाइलेखाइमा मध्यम स्तरकै थिए । घरायसी काममा अनि खेतबारीको काममा बढी दल्लिनु परेको थियो किनकि तराईमधेश छोरीचेलीलाई शिक्षा दिने कुरामा त्यति उदार भइसकेको थिएन ।
छोरीचेलीलाई पढाउनेले समाजको अनेक ताना सुन्नुपर्थ्यो । यी सबै कुराको प्रवाह नगरी आफ्ना छोरीहरूलाई पनि छोरा जस्तै शिक्षा दिइरहेका थिए । राममिलन आफ्ना हाड घोटेर सबै सन्तानलाई शिक्षा दिन लागिपरेका थिए । छोरीहरुले एस.एल.सी.उत्तीर्ण गरे । परिवारमा अर्को खुसी थपियो ।
समयले खुसी मात्र दिँदो रहेनछ, हुर्की बढेसकेकी छोरीलाई विवाह गरेर घर पठाउन पाए हुन्थ्यो भन्ने चिन्ता र तनाव थपिदिएको थियो । राममिलनले आफ्ना छोरीहरुलाई यसरी स्वतन्त्रता प्रदान गरेकोमा समाजलाई पचिरहेको थिएन । उनले आफ्ना छोरीहरुलाई नजिकैको क्याम्पसमा भर्ना गरिदिएका थिए भने अर्को कुरा राम्रो घरवरको खोजीमा पनि थिए । राममिलनले ती आफ्नी छोरीहरुलाई बिहे गरेर उनीहरुको घर पठाइदिए ।
संयोग भनौ या कर्मको फल भनौ छोरीहरु बुहारी भएर अर्काको घरमा जाँदा पनि लोग्नेको साथ अनि परिवारको सहयोग पाएर उनीहरु आफ्नो पढाइलाई निरन्तरता दिने मौका पाए । यस्तो तस्वीर विरलै देख्न पाइन्छ किनकि छोरीहरु अर्काको घरमा बुहारी भएर गइसकेपछि छोरीझैँ माया, स्नेह र व्यवहार पाउनु भनेको अहिलेको जमानामा डोकोमा दूध दुहेर खानु जत्तिकै मुस्किल कार्य हो । ती दुइटी छोरीहरु पनि पढाइ पूरा गरे ।
आफ्नो मनोभावना बुन्ने अनि साथ र सहयोग गर्ने परिवारकै कारण आज उनीहरुमध्ये एउटीले सरकारी जागिर र अर्कीले सामाजिक संस्थामा काम गर्न थाले । यी सबै एक एक गरी परिवारमा खुसी नै खुसी थपिँदा राममिलनको खुट्टा भुइमा थिएनन् । यता कान्छो छोरो नरेनद्र भने पढाइलेखाइमा निकै तीक्ष्ण बुद्धिकै कारणले एस.एल.सी.प्रथम श्रेणीमा उत्तीर्ण गर्यो । दाजु महेनले भाइ तिमीलाई के पढ्ने इच्छा छ भनेर सोध्दा यहाँहरुले जे पढाउनुहुन्छ त्यही पढ्छु ।
आफ्नो र परिवारको इज्जत बढाउने काम गर्ने छु भनेको थियो । उता उसको दाजु महेनले आफ्नो अन्तर्मनको कुनामा आफ्नो भाइ नरेन्द्रलाई ठूलो अनि इज्जतदार मानिस बनाउने सपना बुनिसकेको थियो । महेनले भाइलाई चार्टर एकाउन्ट पढाउने सोच बनाएको थियो । उसले चार्टर एकाउन्ट पढेकाहरु बेरोजगार भइ बस्न नपर्ने अनि कमाइ पनि राम्रै हुने सुनेको थियो । सोही अनुरुप महेन्द्रले पारिवारिक उन्नयनको लागि चार्टर एकाउन्ट पढाउनु पर्ने आफ्नो योजना र चाहना भाइलाई सुनायो अनि भाइ नरेन्द्रले पनि तपाईंहरुले ममा क्षमता देख्नुभयो लगानी गर्ने तपाईंहरु नै हो । तपाईंहरुले जे विषय लिएर पढ् भन्नुहुन्छ म पढ्नलाई तयार छु ।
“महेन्द्रले नेपालमा सि.ए. पढ्नका लागि ठूलो धनराशि खर्च गर्नुपर्ने भएकोले मेरो शिक्षकको तलब र खेतीपातीको आम्दानीले मात्र धान्न गारो पर्छ त्यसैले अलि कम खर्चमा पढ्नका लागि तिमीलाई भारतको दिल्ली जानुपर्छ त्यहाँ अलि कम खर्च लग्छ । जान तयार छौ त ?” भनी सोध । परिवारको यो निर्णयलाई नरेन्द्रले सहज रुपमा स्वीकार गरेर सि.ए. पढ्नको लागि दिल्ली गयो । दाजु महेन्द्रले भाइ नरेन्द्रलाई दिल्लीको एउटा राम्रो विद्यालयमा भर्ना गरिदिए ।
भाइ नरेन्द्रको पढाइ राम्रै चल्दै थियो । आवास भाडा, महिना शुल्क, परीक्षा शुल्क सबै गरेर भाइका लागि ठुलै धनराशि खर्च गर्नुपर्ने देखिन थाल्यो । भाइ परदेशमा पढ्दै थियो उसले मागेजतिको पैसा दाजुले नेपालबाट पठाइदिने गर्न थाल्नुभयो । शिक्षकको कमाइ र खेतीपातीको कमाइले पढाइ खर्च जुटाउन राममिलनको परिवारलाई सार्है गारो पर्न थाल्यो । यता भने घरमा आफ्नो सबै कमाइ भाइको पढाइमा खर्च गर्नु राम्रो होइन भनेर महेनकी पत्नी ममताले भन्न लागिन् । परिवारमा किचलो सुरु हुन थाल्यो । उता समाजमा महेनको आदर्शको गुणगान गाउन थालियो । महेन जस्तो दाजु पाउन अहिलेको स्वार्थी युगमा कठिन छ ।
महेनकी पत्नी ममतालेआफ्नो लोग्नेलाई भनिन्, “भाइजस्तो मित्र अनि भाइ जस्तो शत्रु यो दुनियामा कोही हुँदैन त्यसैले आफ्नो भाइलाई धेरै माया नगर्नुहोस् अनि सबै पैसा भाइका लागि खर्च नगर्नुहोस् भोलि पछुताउनुपर्ला । आज भाइलाई पिलाएको अमृत भोलि देउरानी आएपछि विष बनेर निस्किनेछ । त्यही भएर तपाइँको यो काममा मेरो सहमती छैन् । मेरो चित्तै बुझेको छैन ।” पैसाको विषयलाई लिएर ममतासगँ दिनदिनैको झगडाले गर्दा भाइलाई पढाउनका लागि बैंकबाट बुवाको नाममा दस लाख रुपैया ऋण निकाले । महेनकी पत्नी ममताको मन बल्ल शान्त भयो ।
ममताको मनमा ममता छँदै थिएन । समय बित्दै गयो । भाइ नरेन कुन बाटोमा हिडिरहेको छ भन्ने विषयमा जान्नका लागि दाजु महेनले बेलाबेलामा फोनमा कुराकानी गरिरहन्थे सबै राम्रै चल्दै थियो । नरेनको प्रथम सेमेष्टर सकियो । नतिजा पनि आयो तर नतिजा सन्तोषजनक देखिएन । ऊ लामो समयको छुट्टीमा घर आँउथ्यो । दशैँको विदामा ऊ घर आयो । ऊ त पुरै शहरिया पो भैसकेको रहेछ । सहरिया नबन्नु भनेको होइन मानिस आधुनिक अनि युग अनुसार रुपान्तरित हुनुपर्छ यद्यपि आफ्नो बाटो बिराउनु हुँदैन । उसको आनिबानी, लवाइखवाइ, व्यवहार सबैमा परिवर्तन आइसकेको रहेछ ।
राममिलन र फूलमती पनि अचम्मित भैरहेका थिए । घरमा आएपछि त पढाइलेखाइका कुरा गर्नु, खेतीपातीमा आमाबाबालाई सहयोग गर्नु त कहाँ हो कहाँ ऊ त गाउँका आवारा केटाहरुसगँ घुम्ने, उनीहरुसँग उठबस गर्न थालेपछि सबैलाई उसको पढाइप्रति आशङ्का उब्जिन थाल्यो । उता ममताले आफ्नो लोग्नेलाई भन्ने मौका पाइहालिन् “देख्नुभयो सर्पलाई जति दूध पिलाए पनि ओकल्ने भनेको आखिर विष नै रहेछ नि ! कि बुझ्नुभएन ?” ममताको यो वचनवणीले महेन घाइते भए ।
महेन एकदम किंकर्तव्यविमुढ भए । उनले ममतालाई सम्झाउँदै भने, “हेर ममता यो मेरो भाइ तिम्रो देवर उमेरमा कच्चा छ यसलाई हामीले परिपक्व बनाउनुपर्छ । उसले एउटा गल्ती गर्यो भन्दैमा हामीले अर्को गल्ती त गर्नुभएन नि ? बरु हामीले उसको गल्तीलाई सच्याउनुपर्छ । बैगुनीलाई गुनले मार्नुपर्छ । “ममताले भनिन् , मैले त पहिले नै भन्दै थिएँ परदेशमा राखेर भाई पढाउन सकिँदैन । उसले त्यहाँ के खान्छ ? के गर्छ ? कस्ताको सङ्गत गर्छ ? पढ्छ कि पढ्दैन् ? निगरानी हुँदैन त्यसैले आफ्नै निगरानी र संरक्षकत्वमा राख्नुपर्छ भनेकै थिएँ मान्नु भएन ।”
नरेन्द्रको विषयलाई लिएर घरमा पारिवारिक बैठक बस्यो।त्यहाँ ममताको त्यो वचनवाणीले महेनलाई घोचिरह्यो त्यसमाथि नरेन्द्रको आचरणले झन् कटेको घाउमा नुन छर्ने काम गर्यो । राममिलनले कान्छो छोरो नरेनलाई सम्झाउँदै भने ,“हेर नरेन हाम्रो कमाइ कम छ तर हामीले तलाई एउटा यो कुलको गौरव गर्न लायकको मानिस बनाउने सपना देखेका थियौँ । खर्च अत्यधिक छ । तेरो दाजुको कमाइले मात्रै नपुग्ने भएपछि हामीले जग्गा धरौटी राखेर बैंकबाट दस लाख ऋण लिएका छौँ । तँ कतै गलत बाटोमा त लागेको छैनस् ? पढाइ पनि सोचेजस्तो राम्रो गरेको छैनस् ।
सङ्गत र स्वास्थ्य दुबै खराब भैसकेको छ । खास कारण के हो ? हामी जान्न चाहन्छौं । “नरेन्द्रले भन्यो, म गलत बाटोमा लागेको छैन तपाइँहरु बिनासित्तीमा ममाथि शङ्का गर्दैहुनुहुन्छ । अर्को कुरा सि.ए. पढ्न त्यति सजिलो कहाँ छ र ? अर्को सेमेस्टरमा राम्रो गर्छु नि, बल्ल त पहिलो सेमेष्टर सकिएको छ ।” पाँच सात लाख खर्च भैसक्यो । अझै कति खर्च हुन्छ ? थहा छैन । त्यसमाथि बैंकको ऋण, त्यसको व्याज, राममिलनले लामो सास फेरे । महेनले पनि घाँटी हेरी हाड निल्नुपर्छ भन्ने कुराको महसुस गर्न थालिसकेका थिए । एक महिना घर बसेर नरेन्द्र पुनः दिल्ली फर्के ।
नरेन्द्र पढ्न गएदेखि र बैंकबाट ऋण निकालेदेखि घरमा पहिलेको खुसी हराएको थियो । सबैलाई वर्तमान समय भन्दा पहिलेको समय कति सुखद थियो भन्ने लाग्न थालेको थियो । सबै जना भोलिको समय कस्तो हुने हो ? नरेन्द्रले सबैको सपनालाई कतै तुहाइदिने पो को कि ? भन्ने कुरामा भयभित भइरहन्थे । नरेन्द्र पढ्न त गएको थियो तर त्यहाँ ऊ साथीहरुको लहैलहैम लागेर आफ्नो भविष्य वर्वाद तुल्याउने र परिवारको सपना चकनाचुर गर्नमा लागेको थियो । कसरी पत्याउनु । पत्याउन पनि नसकिने कर्ममा लागेको थियो जुन पछि थाहा हुँदै गयो । पढाइलेखाइ गर्ने उमेरमा मोजमस्ती अनि इस्कगिरीमा लागेको रहेछ ।
लागुपदार्थ दुर्वेसनीमा लागेकाहरुले लागुपदार्थ सेवन गर्न छोड्न नसके जस्तै ऊ कसैको प्रेम भन्दा पनि कामबासनामा लिप्त भएको रहेछ जुन कुरा उसले छोड्न सकिरहेको थिएन् । जसको कारणले उसको पढाइ बिग्रेको थियो । उसको पढाइको दोस्रो सेमेस्टर सकियो । दश लाख रुपैयाँ पनि झ्वाम्म भयो। पढाइको उपलब्धी शून्य भयो । एक वर्षपछि यी सबै कुराको पोल खुल्दै गयो । “चिडीया चुनगइ खेत तो पछुतानेसे क्या होगा ?” राममिलनका लागि समय कति निर्दयी बनिदियो ।
नरेन्द्र एक वर्षपछि घर आएको थियो । परिवारका सदस्यहरुले सम्झाउँदा र ऊ उल्टै सबैसँग झगडा गर्न थाल्यो । उसले हरेक कुरालाई गलत रुपमा लिन थाल्यो । महेनले पनि सोच्न थाले हामी आफ्ना छोराछोरीको भविष्य अन्धाकारमा राखेर कुलतमा लागेको भाइलाई सहयोग गर्न सक्दैनौँ किनकि उसले हाम्रो लगानी सबै बालुवामा खन्याउनी गर्न थालेको रहेछ । आफ्नो, श्रीमती छोराछोरीको पनि त जीवन बनाउनु छ ।
हिजो पो एक्लो ज्यान थियो । आज एउटा पारिवारिक जिम्मेवारी थपिएको छ । दिनदिनै श्रीमतीको कचकचबाट वाक्क भएर महेन आमाबाबाबाट छुट्टीएर अलग्गै बस्न थाले।यता बुढा आमाबाबा बैंकको ऋण तिर्नमै जीवन बिताउँदै थिए । नरेनले भन्यो, “म सि.ए. पढ्न सक्दैन र म दिल्ली पढ्न जादैन । आमाबाबाले भन्नुभयो, “तँलाई पढाइ पूरा गर्न थिएन भने किन हात हालिस् ? एउटा तहमा आफ्नो पढाइको थालनी गरेपछि त्यसलाई त पूर्णता दिनुपर्छ नि बिचमा यसरी छोड्यो भने त सबै हाम्रो लगानी त व्यर्थ हुन्छ । हामी ऋण धन गरेर तेरो पढाइखर्चको व्यवस्था मिलाएकै छौ तर तैले यसरी बिचमा पढाइ किन छोडेको ? यो कुनै हालतमा पाँइदैन ।
नरेन्द्रले भन्यो,” मेरो जीन्दगी म मेरो तरिकाले जिउँछु । तपाइँहरुले त आफ्नो अभिभावकत्व पूरा गर्नुभयो । त्यो त तपाईको दायित्व थियो । अब म चाहे पढूँ या न पढूँ मेरो इच्छा हा । म मेरो इच्छा अनुसार चल्छु । “राममिलनले लामो सास फेर्दै भने ,“हेर शिव ! हाम्रो कोखबाट कुपुत्र पो जन्मेको रहेछ्स् । तँ जस्ता नालायक सन्तान कसैले पनि नपाउन् हाम्रो भाग्य अनि कर्म नै फुटेको थियो र पो आज यो दिन देख्नु परिरहेको छ ।” भनिन्छ पुत्र कुपुत्र हुन सक्छ तर माता कहिले कुमाता हुदैनन् । तैले जे गरे पनि हामी सबै सहन्छौ । तैले सि.ए. नपढे पनि हुन्छ तर तैले हाम्रो शिर निहुरिने काम नगर ।
बिन्ती छ दुनियाको चेलीछोरीको जीवन वर्वाद गर्ने काम नगर । आफ्नै कुलको आफ्नै जातको एउटी सभ्य केटी खोजेर बिहे गर हामीलाई अरु केही चाहिँदैन हैन भने हामीले एउटी सभ्य, रूपवती गुणवती बुहारी खोजेका छौँ । ऊसैसँग विहे गर । नरेनले कसैको मुख हेरेन न त आमाबाबाको न त दाजु भाउजूको न त दिदी बहिनीको ।यसले आफ्नो मुख कालो बनाएर एउटी अन्तरजातीय युवतीसँग सम्बन्ध बनायो जुन त्यो परिवारको लागि अपाच्य थियो । ऊ समाजमा बदनाम भएकी स्त्री थिई उसलाई सहज रुपमा राममिलनले आफ्नो बुहारी स्वीकार्ने अवस्थामा कदापी थिएनन् । उनीहरुले घरमा भित्रयाए परिवारको प्रतिष्ठा ध्वस्त हुन्थ्यो । यस्तो बेलामा के नै गर्न सक्थे राममिलन ।
राममिलनले भने, “त्यो दुर्गन्ध कसरी सहनु जसले परिवारको गरिमालाई ध्वस्त बनाउँछ ? यो कदापी स्वीकार्य हुदैन । यदि तैले त्यो दुर्गन्धित बाटो हिड्छ्स् भने पारिवारिक सम्बन्ध समाप्त हुन्छ । फैसला आफै गर्नु ।” उसले उसको लागि परिवारलाई लत्याएर पारिवारिक सम्बन्ध त्यागेर उसले रोजेको बाटोमा लाग्यो । कहाँसम्म पुग्ने हो थाहा छैन । आफूले रोजेको बाटोमा हिडेको भए पनि हुन्थ्यो। आमाबाबा छोराको पढाइको लागि लिएको ऋण कसरी तिर्ने होला भनी चिन्तामा डुबे । आखभरि आँसु टिल्पिलाइरहेको थियो । आँशु लुकाउनका लागि आकाशतिर हेरे । यति नै बेला आकाशबाट एउटा तारा भुइँतिर खस्यो ।
लेखक भवानी मा.वि. मान्बु, गोरखाका शिक्षक हुन् ।