सचेतनाका लागि बारपाकमा दृष्टिविहिनको क्रिकेट खेल प्रदर्शन
सचेतनाका लागि बारपाकमा दृष्टिविहिनको क्रिकेट खेल प्रदर्शन
गोरखा ःबारपाक सुलिकोट गाउपालिका स्थित बारपाकको हिमालय मावि परिसरमा मंगलबार दृष्टिविहिन खेलाडीले क्रिकेट खेल प्रदर्शन गरेका छन् ।
बलिङ, ब्याटिङ र फिल्डीङमा दृष्टिविहिन खेलाडीले खेल कौसल देखाएका हुन् । ‘बारपाकमा आएर क्रिकेट खेल्न पाउँदा खुसी लागेको छ,’ क्रिकेट खेलमा सहभागी मनिषा पोखरेलले भनिन्,‘दृष्टिविहिनले अवसर पाए केहि गर्न सक्छन् भन्ने सन्देश दिन पनि यहाँ आएर क्रिकेट खेलेका हौँ ।’
मनिषाले डेड वर्ष देखि क्रिकेट खेल्दै आएकी छिन् । ‘हामीले वलको आवाज सुनेर ब्याटिङ गर्छौ, आवाजले वल कता गइरहेको छ थाहा पाउँछौँ’ उनले भनिन् ।
कार्यक्रममा दृष्टिविहिन क्रिकेट संघका केन्द्रिय अध्यक्ष पवन घिमिरे, महासचिव अमृत वराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्ति सिं वस्नेत, गोरखा नेत्रहिन संघका कार्यक्रम संयोजक पवन वस्नेत लगायतको सहभागीता रहेको थियो ।
सामाजिक सचेतनाका लागि समुदायमा दृष्टिविहिन क्रिकेट खेल प्रदर्शन गरिएको हो । क्रिकेट मार्फत सचेतना फैलाउने उदेश्यले समुदायमै पुगेर खेल प्रदर्शन गरिएको दृष्टिविहिन संघका केन्द्रिय अध्यक्ष घिमिरेले बताए ।
‘अवसर पाए जुनसुकै काम गर्न सकिन्छ भन्ने सन्देश पनि दिन खोजेका हौँ,’ उनले भने,‘अझै गाउँघरमा अपाङ्गता भएका नागरिकलाई हेर्ने दृष्टिकोण फरक छ, क्रिकेट मार्फत सचेतना पनि फैलाउन खोजेका हौ, वाटोमा हिड्दा वा कुनै अप्ठारो पर्दा दृष्टिविहिनलाई सहयोग गरुन्, समाजमा कुनै अपाङ्गता भएकाहरु छन् भने उनिहरुलाई पनि हौसला प्रदान गर्न सहयोग पुगोस भनेर समुदायमै पुगेर खेल प्रदर्शन गरेका हौँ ।’ बारपाकमा दृष्टिविहिन खेलाडीले खेलेको क्रिकेट खेल गर्न स्थानीय तथा विद्यार्थीहरु पनि सहभागी वनेका थिए ।