नाम्जुङ–घैरुङ सडक कालोपत्रे शुरु
नाम्जुङ–घैरुङ सडक कालोपत्रे शुरु
गोरखा ः शहिद लखन गाऊँपालिकाको नाम्जुङदेखि घैरुङसम्मको सडक स्तरोन्नतीको क्रममा कालोपत्रेको काम शुरु भएको छ ।
साढे ३ किलोमिटर सडक कालोपत्रे गर्ने गरि २०७९ माघमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार सडक स्तरोन्नतीको काम यो वर्षको माघमा पूरा गर्नुपर्नेछ । तर सम्झौताको म्याद अगावै स्तरोन्नतीको काम पूरा गर्ने गरि कालोपत्र शुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।
शहिद लखन गाऊँपालिकाले आफ्नै स्रोत र संघीय सरकारको समपूरक अनुदानबाट नाम्जुङदेखि घैरुङसम्मको साढे ३ किलोमिटर सडक स्तरोन्नती गर्न लागेको हो । गोरखा सदरमुकामबाट नाम्जुङसम्मको सडक भने प्रदेश सरकारको लगानीमा यसअघिनै कालोपत्रे भैसकेको छ ।
घैरुङ–मनकामना–ढाँडबारी–रामशाहघाट सडकखण्ड स्तरोन्नतीका क्रममा पहिलो चरणमा साढे ३ किलोमिटर सडक स्तरोन्नती गरिएको गाऊँपालिका अध्यक्ष रमेश थापामगरले बताए । सडक स्तरोन्नतीका लागि १४ करोड १६ लाख खर्च लाग्ने अनुमान गरिएकोमा ९ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तर स्तरोन्नतीको काम पूरा गर्न वजेटको अभाव रहेको उनले बताए ।
सडक स्तरोन्नतीका लागि गोरखा नगरपालिकाको सिनर्जी÷सचेत जेभीसँग गत वर्षको माघमा गते ठेक्का सम्झौता भएको थियो । उक्त खण्ड कालोपत्रेका क्रममा सवारी साधन आवागमन बन्द हुने भएको छ । आगामी जेठ ३२ गतेसम्म सडकखण्ड बन्द गरेर कालोपत्रको काम गरिने निर्माण कम्पनीका सञ्चालक किरण श्रेष्ठले जानकारी दिए । उक्त अवधीमा वैकल्पिक सडकमार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरिएको छ ।
२०८१ सालको माघ ३० गतेसम्ममा कालोपत्रको काम सक्ने गरि ठेक्का सम्झौता भएपनि हालसम्म ८५ प्रतिशत भन्दा बढी काम भैसकेको जनाइएको छ । उक्त सडक स्तरोन्नती भएपछि पनि शहिद लखन गाऊँपालिकाको केन्द्र पक्की सडक सञ्जालसँग जोडिन अझै करीव डेढ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ ।