कविता : किसानको महिमा
कविता : किसानको महिमा
भरत केवट
श्री भवानी मा.वि.आरुघाट २ मान्बु, गोरखा
ग्रीष्मका ऋतु, महिना दुई, जेठ र असार
साउन भदौ, बर्षाका ऋतु, ल्याउँछन् बहार
जलद यहाँ सलिल बोकी नभमा दौडन्छ
सेतो र कालो बनाइ रुप पर्वत चुम्दछ
बिजुली चम्क्यो आकाश गर्ज्यो पवन सरर
प्रकृति छटा देखी यो मन भयो है हरर
मोतीका दाना बर्षिन थाल्छ आएर असार
फलाउन सुन कृषकहरु गर्दछन् हतार
धरणी आज चाँदीझैँ टल्क्यो अमृत जलले
बाढीको पीर पैह्रोको डर बिर्सियो मनले
असार मास हामीले खास गर्नु छ रोपाइँ
किसान सबै मालिक बनी गर्नु छ रजाइँ
रहन्छन् बाँझै टारी र बारी असार नआए
बर्षात आइ प्राणी र वृक्ष खुसीले रमाए
कृषिको कर्म आरम्भ हुन्छ असार पन्ध्रमा
दही र च्युरा व्यञ्जन मुख्य असारे पर्वमा
किसानी खेती गरेर हामी जहान पाल्दछौँ
बँचाइ बाँच्ने हँसाइ हाँस्ने सपना देख्दछौँ
माटो र पानी अमूल्य धन किसान जनको
श्रमको मूल्य प्राप्तक बन्ने चाहना मनको
काँधमा हलो भिरेर हली अगाडि बढ्दछन्
हलगोरु खेद्दै बाउसेहरु बेँसीमा झर्दछन्
हिलोमा धान रोपाइँ गर्न सहेली सुहाउँछिन्
बाटेर चुल्ठो युवतीहरु मसक्क मस्किन्छिन्
फोहोर मैला नभनीकन गरामा दौडौँला
रोपेर हामी हिलोमा धान अगाडि बढौँला
प्रकृति घर सबैको साझा बुझौँ है दाजुभाइ
मिलेर बसौँ ममता बाँडी नठानी पराइ
नेपाल हाम्रो सुन्दर देश कृषिमा प्रधान
धरती पुत्र हुन् सबै हाम्रा पौरखी किसान
हाँसो र ठट्टा ल्याउँछ यहाँ असारे गीतले
कठोर श्रम बिर्साइ दिन्छ माटोको प्रितीले
महिना दिन हिलोमा खेल्दा हिलोले सताउँछ
हिलोमै हेर कमल फूल बासना फैलाउँछ
बर्षात आइ बढाइ दियो माटोको महिमा
बुझौँ है भाइ सबैले हामी असारको गरिमा
जमिन जल बीउ र मल पाए त हुने हो
राज्यले यहाँ लगानी गरे उन्नति हुने हो
राष्टूको मुख फेरिन्छ यहाँ नमारे किसान
मुहार खुसी सबैको पार्ने किसान महान्
लेखक श्री भवानी मा वि आरुघाट २ मान्बु, गोरखाका शिक्षक हुन् ।