दुइ वर्षमा सात सय पिन्ट रगत खपत
दुइ वर्षमा सात सय पिन्ट रगत खपत
गोरखा ः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा द्धारा संचालित रक्त संचार केन्द्रमा दुइ वर्षको अवधिमा सात सय ८ पिन्ट रगत खपत भएको छ ।
गोरखा नगरपालिका–६ मा संचालित केन्द्रमा अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा तिन सय ३३ पिन्ट र गत आर्थिक वर्ष २०८०÷८१ मा ३ सय ७५ पिन्ट रगत खपत भएको केन्द्रकी रुस्का केसीले जानकारी दिइन् । आर्थिक बर्ष २०८०÷८१ मा दुइ सय ३५ जना महिला र एक सय ४० जना पुरुषलाई केन्द्रबाट रगत उपलब्ध गराइएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९÷८० २ सय ३ जना महिला र १ सय ३० जना पुरुषलाई रगत उपलब्ध गराइएको छ । केन्द्रको तथ्याङ्क अनुसार सवैभन्दा वढी ओ पोजेटिभ रगत खपत भएको छ । २०६६ भदौ १९ गतेबाट आकस्मीक रक्त संचालन सेवा केन्द्र संचालनमा थियो । रेडक्रसले २०७९ भदौ बाट जिल्ला शिक्षा तथा समन्वय इकाईको भवनमा रक्त संचार केन्द्र स्थापना गरेको थियो । दुइ महिना अघि केन्द्र गोरखा अस्पतालमा सरेको रेडक्रसका सुवास घिमिरेले जानकारी दिए । ‘केन्द्र संचालनका लागि आर्थिक अभाव पनि झेलिरहेका छौँ, केन्द्रका लागि मासिक ५०÷५२ हजार खर्च छ,’ उनले भने । केन्द्र स्थापना पछि अघिल्लो आर्थिक वर्ष सरदर २५ र गत आर्थिक वर्ष ३० पिन्ट रगत मासिक रुपमा खपत भएको उनले बताए । ‘ब्लड डोनेसनबाट आएको सवै रगत पनि हामी राख्दैनौँ, धेरै कलेक्सन गरियो भने खेर जाने संभावना हुन्छ, केन्द्रमा २०÷२१ दिन भयो भने वाहिर पठाउँछौ,’ उनले भने । गोरखा अस्पतालका लागि आवश्यक रगत केन्द्रबाट उपलब्ध गराइएको उनले बताए । रत्तदान गर्ने र रगत आवश्यक पर्ने दुवैलाई केन्द्र सहज वनेको छ । केन्द्रमा दुइ सय पिण्ट सम्म रगत राख्न सक्ने क्षमता छ । सेवा शुरु भएसँगै रगत अभावमा विरामीहरुलाई काठमाडौ, चितवन लगायतका शहर पुग्नुपर्ने वाध्यता हटेको केन्द्रको दावी छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था अष्ट्रेलयाको ग्याप र बेल्जियम रेडक्रसको सहयोगमा ब्लड वैंकका लागि आवश्यक उपकरण रेडक्रस सोसाइटी गोरखालाई सहयोग गरेको थियो ।