८६ प्रतिशत खेतमा धान रोपाई सकियो
८६ प्रतिशत खेतमा धान रोपाई सकियो
गोरखा ः जिल्लामा यस वर्ष मध्ये साउन सम्म ८६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार धान खेती हुने मध्ये ८६ प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
जिल्लामा १० हजार एक सय ४० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुदै आएको कृषि ज्ञान केन्द्र गोरखाका योजना शाखाका सुमन भट्टराईले जानकारी दिए । सवै भन्दा वढी गोरखा नगरपालिका क्षेत्रका धान खेतमा रोपाई भएको उनले बताए । ‘अझै पनि टारी खेतहरुमा धान रोपाइँ भइरहेको छ, साउन मसान्त सम्म ९० प्रतिशत क्षेत्रमा धान रोपाई हुने अनुमान गरेका छौँ,’ उनले भने । गत वर्षको तुलनामा यस वर्ष बर्षाद राम्रो हुँदा धान रोपाई धेरै क्षेत्रफलमा भएको पनि उनले बताए । आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा पनि यो बर्ष धान रोपाइँ भएको छ । छेवेटार, दरौदी, ज्यादुल खोला, घ्याल्चोक,सिरानचोक फाँट, भुसुन्डे फाँटमा धान खेतीको पकेट क्षेत्रको रुपमा रहेको छ । बाढी पहिरोले खेतमा क्षती गरेको भन्दै ५५ जना कृषकले निवेदन दिएको पनि उनले बताए । किसानका निवेदन कृषि निर्देशनालयमा पठाइएको छ ।
असार अन्तिम साताको बर्षाद पछिको वाढीले केहि कुलो र नहरहरुमा पनि क्षती पु¥याएको छ । ‘कतिपय खेतमा सिंचाईको समस्या थपिएको छ,’ उनले भने । गोरखामा सावित्री धान, शुख्खा १,२ र ३, माहाराजा, हाइब्रिड राम धान लगायतका धान कृषकले लगाउने गरेको उनले बताए ।