पाहुनालाई अरिंगालको स्वाद चखाउन होम स्टे
पाहुनालाई अरिंगालको स्वाद चखाउन होम स्टे
गोरखा ः शहिद लखन गाउँपालिका–४ ताक्लुङ स्थित वरालथोकमा होम स्टे सेवा संचालन हुने भएको छ ।
अरिंगाल लगायतका स्थानीय स्वादका परिकारको प्रवद्र्धनका लागि होम स्टे सेवा शुरु भएको हो । अरिङ्गाल होम स्टे संचालनका लागि उत्तम थापाको अध्यक्षतामा ९ सदस्यीय मुल संचालक समिति गठन गरिएको छ । वडा अध्यक्ष यम वहादुर थापाको अध्यक्षतामा साउन २५ गते वसेको वैठकले होम स्टे सेवा संचालनका लागि मुल समिति गठन गरेको हो । होम स्टे सेवा शुरु भएसँगै वडा नम्वर ४ मा ब्यवसायीक रुपमा अरिङ्गाल पाल्नेहरुले अन्त वेच्न नपाउने, उत्त अरिङगाल होम स्टेमा आउने पाहुनालाई खुवाउनुपर्ने नियम राखिएको छ । होम स्टेमा आएका पाहुनालाई लोकल ढिडो, सिस्नुको दाल बनाइ पाहुनालाई चखाउने तथा मगर जातिको संस्कृति चुट्का नाच देखाउने विषयमा पनि छलफल भएको थियो । चेपाङ जातिको आफ्नै सग्रहालयमा आउने पाहुनालाई घुमाउने, समय अनुसारको फल च्यूरी, गिठ्ठा लगायतका परिकार पाहुनालाई चखाउने पनि नियम राखिएको छ । होम स्टे सेवा शुरु गर्न तथा अरिङ्गालको प्रतीक बनाउन शहिद लखन गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष थापाले १७ हजार दुइ सय र शेश्रमण खनालले एक हजार सहयोग गरेका छन् । ताक्लुङ अरिंगाल पालनका लागि प्रख्यात छ । ताक्लुङका अधिकाशं घरमा अरिंगाल पालन गरिएको छ । यस अघि यस क्षेत्रमा उत्पादित अरिंगाल आवुखैरेनी, मुग्लीन, गोरखा वजार लगायतका क्षेत्रमा विक्रि हुदै आएको थियो । गाउँको स्थानीय उत्पादन विक्रि तथा प्रवद्र्धनमा पनि होम स्टेले सघाउने अपेक्षा गरिएको छ ।