स्थानीय तह संस्थागत क्षमता स्व मुल्याङ्कनमा शहिद लखन पहिलो
स्थानीय तह संस्थागत क्षमता स्व मुल्याङ्कनमा शहिद लखन पहिलो
गोरखा ः स्थानीय तह संस्थागत क्षमता स्व मुल्याङ्कनमा जिल्लाको ११ वटा पालिका मध्ये शहिद लखनले सवैभन्दा धेरै अंक ल्याएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा शहिद लखन गाउँपालिकाले ८४.२५ प्रतिशत अंक ल्याएको हो । शहिद लखनले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासन र बार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापनमा ८÷८ अंक पाएको छ । वित्तिय एवं आर्थिक ब्यवस्थापनमा ९, सेवा प्रवाहमा १३, न्यायीक कार्य सम्पादनमा ७, भौतिक पुर्वाधारमा ११, समाजिक समावेशिकरणमा १०, बातावरण संरक्षण तथा विपद ब्यवस्थापनमा ६.७५, सहकार्य तथा समन्वयमा ४.५ अंक ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार गण्डकी गाउँपालिकाले ८१.७५ प्रतिशत, भिमसेनथापा गाउँपालिकाले ८१.२५ प्रतिशत, बारपाक सुलिकोट गाउँपालिकाले ८३.५० प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै पालुङटार नगरपालिकाले ७४.५० प्रतिशत, सिरानचोक गाउँपालिकाले ६२.५०, धार्चे गाउँपालिकाले ६७ प्रतिशत, गोरखा नगरपालिकाले ४८.५० र चुमनुव्री गाउँपालिकाले ४८.२५ प्रतिशत अंक प्राप्त गरेका छन् । स्थानीय तह संस्थागत क्षमता स्व मुल्याङ्कनमा १० वटा सुचकमा एक सय प्रश्नहरु हुन्छन् । विभिन्न सुचकमा ९ देखि १६ अंक सम्म पुर्णाङ्क तोकिएको हुन्छ । नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानूनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ । स्थानीय तहको सबल र दुर्बल पक्षहरुको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाइट र सूचनापाटी मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।