गण्डकी गाउँपालिका–२ मा सेवा कार्यालय स्थापना
गण्डकी गाउँपालिका–२ मा सेवा कार्यालय स्थापना
गोरखा ः गण्डकी गाउँपालिका–२ को वडा कार्यालयले आपटारमा सेवा कार्यालय स्थापना गरेको छ ।
वडा बाट दिने सवै सेवा आपटारको स्थापना सेवा कार्यालयबाट ३ दिन दिन उपलब्ध गराइने छ । प्रत्येक महिनाको ५, १५ र २५ गते सेवा कार्यालयबाट सेवा प्रवाह हुने गण्डकी गाउँपालिका–२ का वडा अध्यक्ष यम वहादुर थापाले बताए । ‘पहिलो चरणमा परिक्षणको रुपमा तिन दिन सेवा कार्यालयबाट सेवा उपलब्ध गराउँछौ, सेवाग्राहीको चाप वढी भए सयम पनि थप्छौँ,’ उनले भने,‘ हाल पत्येक महिनाको ५, १५ र २५ गते सेवा उपलब्ध हुन्छ, त्यो दिन सार्वजनिक विदा परे भोलीपल्ट सेवा दिन्छौँ ।’ जनताको घर दैलोमा सेवा उपलब्ध गराउन कार्यालय स्थापना गरिएको उनले बताए । ‘अहिले रहेको वडा कार्यालय पुग्न आपटार क्षेत्रका स्थानीयवासीलाई दुइ घण्टा वढी समय लाग्छ, गाउँ नजिकैको विद्यालयको एउटा कोठाबाट सेवा दिएका हौँ,’ उनले भने । पशुपति प्रजा प्राविको एउटा भवनबाट वडा कार्यालयले तिन दिन सेवा उपलब्ध गराउने छ । कार्यालयको लागि आवश्यक फर्निचर, कम्प्यूटर लगायतका सामाग्री गाउँपालिकाले उपलब्ध गराएको छ । वडा समितिबाट निर्णय गराई गाउँकार्यपालिका वैठकबाट अनुमोदन गरेर सेवा शुरु गरिएको वडा अध्यक्ष थापाले बताए । गोर्दी, फुर्केडाडाँ, आपटार, भलायोडाडाँ लगायतका क्षेत्रका वासिन्दालाई सहजताका लागि कार्यालय स्थापना गरिएको हो । ‘पृथ्वीराजमार्ग नजिकै पनि छ, काठमाडौ पोखरा रहेका वडावासीलाई पनि त्यहाँ सेवा लिन सहज वन्छ,’ उनले भने । हाल वडा कार्यालय पातीस्वाँरामा छ । तिन दिन वडा अध्यक्ष, सचिव सहित आपटार झरेर सेवा प्रवाह हुने उनले बताए । ‘हालको कार्यालयमा पनि एक जना कर्मचारी त रहनुहुन्छ,’ उनले भने । आइतबार कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमल्सीना, उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, जनप्रतिनिधि लगायतको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो ।