सेवा विस्तार गर्दै गोरखा अस्पताल, बढ्दै सेवाग्राही
सेवा विस्तार गर्दै गोरखा अस्पताल, बढ्दै सेवाग्राही
एक वर्षमा ९५ हजार वढीले सेवा लिए
गोरखा ः सुविधा सम्पन्न भवन वनेर गोरखा अस्पतालले नयाँ भवनबाट सेवा प्रवाह थालेसँगै वर्षैपिच्छे सेवाग्राहीको सख्या वढ्दै गएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा २० हजारले सेवा लिएको गोरखा अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा ९५ हजार पाँच सय ७७ जनाले सेवा लिए । गत साउन महिनामा मात्र १० हजार वढीले गोरखा अस्पतालबाट सेवा लिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट सिद्धार्थ खनालले बताए । अस्पतालको बिभिन्न शल्यक्रिया विभागबाट एक वर्षको अवधिमा एक हजार ७८ जना लाभान्वित भएका छन् । हाडजोर्नीको २ सय ९१, स्त्री रोग सम्वन्धी २ सय ९८, हर्निया एपेन्डिक्स जनरल सर्जरी २८१ जनाले सेवा लिएका छन् । त्यस्तै १२ हजारले भिडीयो एक्सरेबाट सेवा लिएको उनले बताए । गत आर्थिक वर्ष मुटुको भिडीयो एक्सरे सेवा मात्र ९१० जनाले लिएका छन् । गोरखा नगरपालिका–६ को गोरखा अस्पताल २०२९ सालबाट अस्पतालको रुपमा संचालित छ । हाल स्थायी र करार गरि १ सय ६० जना कार्यरत छन् । गत आर्थिक बर्षबाट आँखाको ओपीडी सेवा पनि शुरु भएको छ । गोरखा नगरपालिकाको आर्युवेद स्वास्थ्य पनि अस्पताल परिसरबाटै सेवा लिएका छन् । ‘पहिले दुइ–तिन सयले आर्युवेदको सेवा लिन्थे, अहिले ७ सय ८ सय पुगेको छ,’ उनले भने । गत आर्थिक बर्षबाट मुटुको भिडियो एक्सरे सेवा तथा ब्लड वैक पनि गोरखा अस्पतालमै राखेर सेवा शुरु भएको उनले बताए । गोरखा नगरपालिका सँगको को आधारभुत स्वास्थ्य सम्झौता अनुसार गत बर्षबाट स्वास्थ्य कार्ड वितरण भएको पनि जनाइएको छ । ‘भएका सेवालाई निरन्तरता दिँदै सेवा थप पनि गर्दै छौँ,’ उनले भने । अस्पतालको जनशक्ति ब्यवस्थापन मुख्य चुनौती रहेको उनले बताए । प्रदेश सरकारले पनि गोरखा अस्पताललाई चालु आर्थिक बर्ष नयाँ अल्ट्रासाउण्ड मेसिनका लािग ३५ लाख रुपैयाँ छुट्टाएको छ । इन्डोस्कोपी मेसिनका लागि ५० लाख, डिजिटल रेडीयोग्राफि मेसिनका लागि ४० लाख, फिजियोथेरापीको आवश्यक उपकरणका लाग १० लाख वजेट छुट्टाइएको छ । आवश्यकतालाई प्राथमिकिकरण गरेर अस्पतालालई स्तरोउन्नती गर्दै लगिएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।