समयमै काम नसकिँदा पुल निर्माणको लागत वढ्यो
समयमै काम नसकिँदा पुल निर्माणको लागत वढ्यो
गोरखा ः गण्डकी गाउँपालिका–१ मकैसिङ स्थित वुटार र पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना–३ चुमखोला जोड्ने पक्की पुल समयमै निर्माण नहुँदा लागत वढेको छ ।
दस वर्षस अलपत्र वनेको पक्की पुल निर्माणका लागि पुन ठेक्का लागेपनि काम शुरु भएको छैन । पप्पु कन्स्ट्रक्सनले पक्की पुल निर्माणको जिम्मा लिएर अलपत्र पारेपछि ठेक्का सम्झौता तोडेर गत पौसमा नयाँ ठेक्का लगाइएको छ । आठ वर्षमा १० प्रतिशत मात्र काम गरेको पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता अघिल्लो पुसमा अन्त्य गरिएको थियो । पप्पु कन्स्ट्रक्सनले ०७१ असार २९ मा ठेक्का सम्झौता गरी त्रिशूली नदीमाथि पक्की पुल निर्माणको जिम्मा लिएको थियो । ४२ महिना अर्थात् ०७४ पुस २८ भित्र पुल निर्माण सक्नुपर्ने सम्झौता अवधि गुजारेको थियो । आठ वर्षमा दुवैतर्फ पिलर उठाउने बाहेक अन्य संरचना निर्माण गरिएको थिएन । पप्पुले पुल निर्माणका लागि आवश्यक उपकरण त्रिशूली पारि बुटारतर्फ लैजान नसकेको र आवश्यक उपकरण लैजान बेलिब्रिज निर्माण हुनुपर्ने माग पनि राख्दै आएको थियो । १० प्रतिशत मात्र काम गरेर पुल अलपत्र पारेपछि पप्पु कन्स्ट्रक्सनको ठेक्का तोडेर सडक विभागले पुनः नयाँ ठेक्का लगाइएको छ । नयाँ ठेक्का लगाउँदा पुलको लागत पनि बढेको छ । तत्कालीन समयमा पप्पुले १७ करोड ४६ लाखको लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । पुरानो ठेक्का अन्त्य गरी नयाँ ठेक्का लगाउँदा सोही पुल निर्माण गर्न २२ करोड ५० लाखमा सम्झौता भएको छ । ०८१ पुस २ मा जलप सेवालुङ जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको सडक योजना कार्यालय गोरखाले जनाएको छ । अहिले ४२ महिनाभित्र पुल निर्माण सक्ने लक्ष्य राखिएको छ । पुरानो डिजाइन रिभाइज, जमिनको परिक्षण लगायतको कार्य भइरहेकाले निर्माणको काम शुरु भइनसकेको जनाइएको छ । पुल बने गोरखातर्फ मकैसिङ, पाती स्वाँरा, नाम्जुङ, आहाले हुँद गोरखा बजारसम्म पुग्न सहज बन्ने अपेक्ष गरिएको छ । पक्की पुल अलपत्र परेको संरचना भन्दा ७० मिटर माथि ब्लू इनर्जी प्रालीले बनाएको बेलिब्रिजको गत साता उद्घाटन गरिएको छ । समयमै पुल नबन्दा गण्डकी गाउँपालिकाको ताङलीचोक, मकैसिङ, भुम्लीचोकका बासिन्दालाई कृषि उपज डोकोमा बोकेर झोलुङे पुलमार्फत पृथ्वी राजमार्गसम्म पु¥याउनुपर्ने बाध्यता थियो ।