आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना मुलक कार्यक्रम
आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना मुलक कार्यक्रम
गोरखा ः गोरखा नगरपालिका–१० विरेन्चोक स्थितन रत्नराज्य माविमा आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
मंगलबार कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतनामुलक प्रशिक्षण दिएका थिए । ‘विश्व आत्महत्या रोकथाम दिवस’ को अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखा र सामाजिक विकास कार्यलय गोरखाको संयुत्त आयोजनामा सचेतनामुलक कार्यक्रम भएको हो । त्यस्तै पालुङटारमा पनि स्वास्थ्य शाखाको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा मंगलबार अन्तरक्रीया कार्यक्रम भएको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कृष्ण प्रसाद अधिकारीको अध्यक्षता तथा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्षयरोग अभियान संयोजक जनक रावत, प्रहरी निरिक्षक राजेश थापा, लगायतले प्रस्तुतीकरण दिएका थिए । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ । विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ ।