चाडवाडमा हुन सक्ने महंगी नियन्त्रणको माग
चाडवाडमा हुन सक्ने महंगी नियन्त्रणको माग
गोरखा ः नेपाल कम्यूनिष्ट पार्टी (वहुमत)ले महंगी नियन्त्रणका लागि माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयका अधिकृत चुडानिधि तिवारीलाई ज्ञापन पत्र वुझाउँदै अनिवार्य मूल्य सुची राख्न लगाई त्यसको अनुगमन समेत गरि उपभोक्ता लाई सस्तो, सुलभ र वास्तविक मुल्यमा खाद्यान्न, इन्धन, लताकपडा, माछामासु, तरकारी, फलफूल लगायतको उपलब्धतामा ध्यान दिन माग गरेको हो ।
म्याद गुज्जिएका अखाद्य वस्तुहरु, विषादी प्रयोग गरिएका फलफुल र तरकारी र सडेका माछा मासु जन्य वस्तुहरुको गुणस्तर मापन गरि उपभोक्ताहरुलाई गुणस्तरीय र स्वस्थकर खाद्य सामग्रीको उपलब्धतामा ध्यान दिन पनि माग गरिएको छ । साथै कृत्रिम अभाव सिर्जना गर्ने र अखाद्य वस्तु विक्री गर्ने व्यवसायीहरुको सुक्ष्म अनुगमन गरि कानुन बमोजिम कारबाही गर्न नेपाल कम्यूनिष्ट पार्टी(वहुमत)को माग छ । यातायात क्षेत्रमा वैज्ञानिक भाडादर कायम गरि चाडपर्वको बेला नियमित भन्दा भाडादर नलिन पनि सचेत गराइएको छ । त्यस्तै सडक मर्मतमा ध्यान दिन,चाडपर्वमा हुनसक्ने विभिन्न अपराधीक घटनाहरु झै झगडाहरु, जुवातास, लागुपदार्थको ओसारपसार, चोरी, लुटपाट जस्ता विषयहरु लाई रोकथाम तथा नियन्त्रणको लागि पुर्वतयारी गर्न पनि आग्रह गरिएको छ । बैंक, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरव्याजीहरुले चाडपर्वको बेलामा ऋणीहरु लाई मानसिक तनाव दिने जस्ता कार्यहरु गरिरहेको गुनासो आएको पनि ज्ञापनपत्रमा उल्लेख छ । कम्तीमा चाडपर्वको अवधिभर यस्ता गतिविधि हुन नदिन र जम्मा गरेको रकम विनासर्त फिर्ता गर्ने वातावरण मिलाउन पनि आग्रह गरिएको छ । जिल्लामा अवैध रूपमा भइरहेको नदिनाला दोहन गर्ने, सार्वजनिक जग्गा हिनामिना गर्ने, काठ तस्करी गर्ने र अवैध रूपमा संचालन गरिएका क्रसरहरुलाई कानुन बमोजिम कारबाही गर्न, जिल्ला प्रशासन कार्यालय, सबै स्थानीय तहहरु र जिल्लाका सबै सरकारी कार्यालयहरुको बेरुजु सार्वजनिक गर्न, शिक्षा र स्वास्थ्यमा भएको संवैधानिक व्यवस्थालाई कम्तीमा लागू गर्न पनि माग गरिएको छ । स्थानीय स्रोत साधन (जल, जमिन, जंगल) को अवैद्य उत्खनन् तथा दोहनलाई नियमन तथा अनुगमन गरी नियन्त्रण गर्न र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका अराजकताहरुको अनुगमन गरी नियन्त्रण गर्न पनि माग गरिएको छ ।