धार्चेमा किसानलाई उत्पादनमा अनुदान
धार्चेमा किसानलाई उत्पादनमा अनुदान
गोरखा ः धार्चे गाउँपालिकाले उत्पादनमा आधारीत अनुदान वितरण गरेको छ ।
वास्तविक किसानलाई प्रोत्साहनस्वरुप नगद अनुदान उपलब्ध गराइएको हो । कृषि तर्फको १५ र पशुपालन गर्ने ६२ जना किसानलाई अनुदान उपलब्ध गराइएको हो । कृषि तर्फका १५ जना कृषकहरुलाई उत्पादनमा आधारित अनुदान अन्तरगत चार लाख ६७ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । पशुपालन तर्फ ६२ किसानलाई ६ लाख २ सय १५ रुपैया अनुदान दिएको गाउँपालिकाले जनाएको छ । बास्तविक किसानलाई कृषिमा लाग्न थप हौसलाका लागि प्रोत्साहन स्वरुप उत्पादनमा आधारीत अनुदान वितरण गरिएको गाउँपालिकाले जनाएको छ । आगामी वर्ष उत्पादनमा आधारीत अनुदान वितरणका लागि रकम बढाउने पनि गाउँपालिकाको तयारी छ । कृषि र पशु ब्यवसायमा संलग्न कृषकलाई अनुदान उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । अनुदान पाउनेमा धान, मकै, कोदो, जौ, आलु लगायतका रैथाने बाली, फलफुल खेति तर्फ केरा, किवीको ब्यवसायीक खेती गर्ने किसान छन् । अनुदान उपलब्ध गराउन पालिकाले सुचना जारी गरि आवेदन माग गरेको थियो । किसानको फर्ममा पुगेर स्थलगत अध्ययन पछि उनिहरुलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।