मर्स्याङ्दी जलविद्युत केन्द्र मर्मत हुने विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने
मर्स्याङ्दी जलविद्युत केन्द्र मर्मत हुने विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने
गाेरखा : मर्स्याङ्दी नदीमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने भएको छ। नियमित मर्मत–सम्भार तथा संरचनागत सुधारका कार्य सञ्चालन गर्नुपर्ने भएकाले उत्पादन अस्थायी रूपमा बन्द गर्न लागिएको हो ।
केन्द्रका अनुसार पावरहाउस, टनेल तथा अन्य प्राविधिक संरचनामा देखिएका समस्या समाधान गर्न यही अवधिमा व्यापक मर्मत कार्य गरिनेछ। उत्पादन बन्द हुँदा राष्ट्रिय प्रसारण प्रणालीमा केही असर पर्ने भए पनि वैकल्पिक स्रोतबाट विद्युत आपूर्ति व्यवस्थापन गरिने जनाइएको छ ।
केन्द्रबाट उत्पादन हुँदै आएको करिब ६९ मेगावाट विद्युत अस्थायी रूपमा बन्द हुँदा प्रणालीमा केही दबाब बढ्ने अनुमान गरिएको छ। तथापि नेपाल विद्युत प्राधिकरणले अन्य जलविद्युत आयोजना तथा आयातित विद्युतमार्फत माग धान्ने तयारी गरेको जनाएको छ ।
स्थानीयवासी तथा सरोकारवालाहरूलाई मर्मत अवधिमा आवश्यक सावधानी अपनाउन र आयोजनास्थल आसपास अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ। मर्मत कार्य समयमै सम्पन्न गरी निर्धारित मितिमा पुनः उत्पादन सुरु गर्ने लक्ष्य केन्द्रले लिएको छ ।