ओलीले उद्घाटन गर्दैछन् पानीजहाज कार्यालय, तर हाकिम अझै तय भएनन्
ओलीले उद्घाटन गर्दैछन् पानीजहाज कार्यालय, तर हाकिम अझै तय भएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता ‘नेपाल पानीजहाज कार्यालय’ उद्घाटन गर्ने भएका छन् ।
मन्त्री परिषदले निर्णय गरेको एक महिनापछि कार्यालयको औपचारिक रुपमा सञ्चालन आउन लागेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले सह–सचिवको नेतृत्वमा रहने पानीजहाज कार्यालयमा १६ जना कर्मचारीका व्यवस्था रहेको बताए।
‘मेकानिकल इन्जिनियरको नेतृत्वमा कार्यालय रहने छ’ प्रवक्ता सापकोटाले भने, ‘तर कार्यालयमा रहने कर्मचारीको नाम तय भइसकेको छैन।’
सापकोटाका भनाईमा, कार्यालय स्थापना भएपछि त्यसले सरोकारवाला विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरेर काम गर्न सहज हुनेछ।
पानीजहाज सञ्चालनका लागि भौतिक योजना, ऊर्जा र उद्योग मन्त्रालयले छुट्टाछुट्टै रुपमा काम गर्दै आएको छ।
पहिलो पटक प्रधानमन्त्री हुँदा प्रम ओलीले ०७२ मा नेपालीका राष्ट्रिय झण्डासहितका पानीजहाज महासागरमा चलाउने बताएका थिए।
दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रम ओलीले गत १६ पुषभित्र पानी जहाज सञ्चालन भइसक्ने दावी गरेका थिए।
ओलीले केसी र नारायणी नदी हुँदै हिन्द महासगारबाट पानीजहाज चलाउने बताउँदै आएका छन्।
त्यसै अनुरुप सरकारले पनि भारतसँग भारतीय नदीका जलमार्ग प्रयोग गरेर महासागरसम्म पुग्ने समझदारी पत्रका हस्ताक्षर गरिसकेको छ।
यसबीचमा प्राविधिक विषयमा अध्ययन गर्न नेपाल र भारतका टोलीहरुले दुवै देशको भ्रमण पनि गरिसकेका छन्।
तर, नेपालमा पानीजहाज सञ्चालन गर्ने विषय सामाजिक सञ्जाल र अन्यले विभिन्न स्थानमा खिसिट्युरीको विषय बन्दै आएको छ।
त्यसै सिलसिलामा ओलीले एउटा सम्बोधनका क्रममा १६ पुषभित्र पानीजहाज सञ्चालन हुने बताउँदै टिकट काटेर आउन निमन्त्रणा दिएका थिए।नेपालखबरबाट