सरकारी कर्मचारीको उमेर हद फरक–फरक
सरकारी कर्मचारीको उमेर हद फरक–फरक
एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक फरक तोकिएको छ ।
निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद फरक–फरक तोकिएको हो । संघीय निजामती सेवा विधेयकमा साविकको जस्तै निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको छ । निजामती सेवा मातहत ल्याइएको स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद भने ६० वर्ष छ । संसद सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० नै छ । न्यायाधीशहरुले भने ६५ वर्ष नपुगेसम्म जागिर खान पाउँछन् ।
लोक सेवाको सुझाव सुनिएन
सरकारी तलबभत्ता खाने कर्मचारीहरुको एउटै उमेर हद बनाउन लामो समयदेखि प्रयास हुँदै आएको छ । लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । तर, त्यो सुझावविपरीत संघीय निजामती सेवा विधेयक तयार भएको छ । आयोगका एक सदस्यले भने, ‘सरकारको एउटै ढुकुटीबाट तलब भत्ता खाने सबै कर्मचारी हरुको उमेर हद समान हुनुपर्छ भनेर हामीले संघीय निजामती सेवा ऐनमा ६० वर्ष राख्न भनेका थियौं, तर त्यो सुझाव सुनिएन ।’ लोक सेवा आयोगले उमेर हद ६० वर्ष राख्न सुझाव दिनुमा नेपालीको औसत आयु बढेको आधार प्रस्तुत गरेको थियो । पछिल्ला दुई दशकमा नेपालीहरुको औसत आयु बढेर ७० वर्षभन्दा बढी पुगेको एक अध्ययनले देखाएको छ । ब्रिटेनबाट प्रकाशित हुने प्रतिष्ठित ल्यानसेट जर्नलमा प्रकाशित अध्ययनअनुसार नेपाली महिलाहरुको औसत आयु ७२ वर्ष र पुरुषहरुको औसत आयु ६९ वर्ष पुगेको देखाएको हो । झण्डै १ सय ९० वटा देशमा गरिएको उक्त अध्ययनले नेपालले प्राप्त गरेको सफलतालाई विश्वको १० उत्कष्ट उपलब्धी मध्येमा राखिएको छ । उक्त अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ ओस्लोको इन्स्टिच्युट अफ क्लिनिकल मेडिसिनका वैज्ञानिक डा. सुदनप्रसाद न्यौपानेका अनुसार २३ वर्षको आँकडा हेर्दा संसारमा लगभग ६ वर्षले औसत आयु बढेको छ र नेपालमा त्यसको दोब्बर अर्थात १२ वर्षले औसत आयु बढेको बताइएको छ ।