धार्चेमा पत्रकारिता तालिम
धार्चेमा पत्रकारिता तालिम
धार्चे गाउँपालिका–५ माछीखोलामा ग्रामीण आधारभुत पत्रकारितमा विषयक कार्यशाला तालिम भएको छ ।
धार्चे गाउँपालिकाको आयोजना तथा रेडियो गोरखाको समन्वयमा गाउँपालिका भित्रका संचार र सुचनाको पहुच बढाउन सोमबार र मंगलबार तालिम दिएको हो । सुचना प्रविधिको माध्यमबाट धार्चे गाउँपालिकामा पर्यटन प्रवद्धन गर्न, विकास निर्माणमा पारदर्शिता अपनाउन र सुचनाको हकका बारेमा जनतालाई सुसुचित गराउन तालिम दिइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । भौगोलिक विकटताले पछाडी परेको गाउँपालिकालाई सुचना प्रविधिमैत्री बनाउन र विगतका इतिहासहरुलाई अभिलेख राख्न तालिमको तालिमले सघाउने विश्वास लिइएको छ । गाउँपालिकाका प्रत्येक वडाबाट २÷२ जना तालिममा सहभागी भएका थिए ।
कार्यक्रमकै अवसरमा गाउँपालिकाले सातै वडालाई अडियो वडा पत्र वितरण गरेको छ । वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाको बारेमा पत्र टास्दा नपढ्ने, पढ्न नसक्नेहरुलाई लागि सुनेर थाहा पाउन अडियो वडा पत्र वितरण गरिएको गुरुङले बताए । अडियो वडा पत्र प्रत्येक वडामा दिनभरि बज्ने छन् । गाउँपालिका अध्यक्ष गुरुङका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष किशोर जङ थापा, प्रशासकीय अधिकृत बाबुराम पाण्डे, महासंघका सचिव नरहरी सापकोटा लगायतले सहजिकरण गरेका थिए ।