घाँटु नाच संरक्षणमा जुट्दै गुरुङ समुदाय
घाँटु नाच संरक्षणमा जुट्दै गुरुङ समुदाय
केशव गुरुङ
गोरखा ः गुरुङ जातिको मौलिक परम्पराका रुपमा रहेको घाँटु नाँचलाई संरक्षण गर्न धार्चे गाउँपालिका–५ गुम्दामा धार्चे घाँटु संरक्षण समिति गठन भएको छ ।
चन्द्र बहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय संरक्षण समिति गठन भएको हो । विगतमा संरक्षण समिति नहुँदा घाँटु नाँच अन्यौलमा परेकाले नयाँ समिति गठन गरिएको समितिका अध्यक्ष चन्द्र बहादर गुरुङले बताए । नयाँ समितिले घाँटु नाँचसँगै गुरुङहरुकोे संस्कृतिलाई संरक्षण गर्नेछ ।

‘घाँटु नाँच संचालन गर्नका लागि विगतमा प्रत्येक घरबाट चामल, रोटी, रक्सी उठाउदै आएका थियौ,’ गुरुङले भने, ‘गुम्दामा ३ सय घरधुरी छ, यस वर्षबाट चामल रक्सीको साट्टमा गाउँका प्रत्येक घरधुरीबाट रु दुई÷दुई सय रुपैया उठाउने निर्णण भएको छ ।’ उक्त रकमले घाँटु नाँच लगायत गुरुङ जातीको संस्कार संस्कृति संरक्षणका लागि खर्च गरिने उनले बताए । गुरुङ समुदायमा घाँटु, मारुनी नाँचलाई मौलिक परम्परागत रुपमा रहदै आएको छ । गाउँगाउँमा पश्चिमी संस्कृतिले प्रभाव जमाउदै गएता पनि गुम्दामा भने घाँटु नाँच प्रति युवाहरु पनि आकर्षण बढिरहेको वडा अध्यक्ष तुल बहादुर गुरुङ बताउछन् ।

घाँटु नाँच संरक्षणका लागि गाउँपालिकासँग आर्थिक सहयोगका लागि पहल भइरहेको उनले बताए । गुम्दा गाउँलाई होमस्टे गाउँ घोषणा गर्ने प्रक्रिया भइरहेको बताउदै त्यसका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई घाँटु नाँच लगायत गुरुङ समुदायक भित्र रहेको सँस्कृति देखाउने गुरुङले बताए । सोही गाउँपालिका–४ लाप्राकमा पनि केहि समय अघि लाप्राक सती घाँटु समिति गठन भएको वडा अध्यक्ष राज गुरुङले बताए । तर लाप्राकमा पछिल्लो समयमा घाँटुको रौनक घट्दै गएकाले आफ्नो संस्कार, सँस्कृतिलाई जोगाउन घाँटु नाँच बचाउने अभियान संचालन गर्नुपर्ने देखिएको गुरुङले बताए ।

माघे सक्रान्तिबाट शुरु हुने घाँटु नाँच हरेक महिनाको पुर्णिमा, चैत दशै, मकै विवाह, बैशाख पुर्णिमा (चण्डेश्वरी जात्रा) लगाउने प्रचलन रहेको उनी बताउछन् । लमजुङका राजा पशुराम र रानी चम्पावती बीचको कथालाई गीतमा आधारीत बनाएर गाउँका जीवीत देवीलाई घाँटुका रुपमा नाच्ने प्रचलन रहेको उनले बताए । गीतकै सुरमा ती घाटुनीहरुको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ ।

गुम्दामा घाँटु नाँच बाट उठेको रकम गाउँ संरक्षण सँगै अन्य ठाउँमा नाँच प्रर्दशनका लागी जाँदा खर्च गरिने समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए । पछिल्लो समय घाँटु नाँच लोप हुदै गएको भन्दै जर्गेनाका लागी समिति गठन गरिएको बताइएको छ ।
तस्बिरः धने गुरुङ र राज गुरुङ फेसबुकबाट