मनास्लु क्षेत्रमा बर्षेनी पर्यटक बढ्दै
मनास्लु क्षेत्रमा बर्षेनी पर्यटक बढ्दै
केशव गुरुङ
गोरखा ः पछिल्लो दुई महिनामा मनास्लु संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढेको छ ।
सिजन शुरु भएसँगै मनास्लु क्षेत्र घुम्न आउने पर्यटक बढेकोे मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । विशेष गरेर अग्रेजी महिनाको मार्च, अप्रिल र अक्टोपरलाई मुख्य पर्यटकीय सिजनको रुपमा मानिन्छ । यो वर्ष मार्चमा ९ सय ५९ र अप्रिलमा १ हजार एक सय ५९ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । बढी हिमपात भएका कारण फागुनमा पर्यटक आउन नसकेको बताउदै लामाले चैत्रबाट पर्यटकको चाप बढेको बताए । बर्षेनी पर्यटकको संख्यामा बृद्धि भएको उनको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार सन् २०१६ मा ४ हजार ८ सय ७२ जना पर्यटकले उत्तरी क्षेत्रको भ्रमण गरेका थिए भने २०१७ मा ६ हजार ९ सय २८ जना उत्तरी क्षेत्र पुगेका थिए । सन् २०१८ मा ७ हजार ६ सय ४० पर्यटक आएकोमा चालु वर्षमा ८ हजार पर्यटक आउने अनुमान गरिएको लामाको बताए । मनास्लु घुम्न आउने धेरै फ्रान्स, जर्मन, नेदरल्याण्ड, ब्राजिल, अर्जेटिन्ना, फिनल्यान्डका नागरिक रहेको लामा बताउछन् । घुम्न आउने पर्यटकले संरक्षित जंगलमा पाइने लोपोन्मुख प्रजातिका बन्यजन्तु, चराचुरुङी, गुम्बा, हिमश्रृंखला अवलोकन गर्न पाउनेछन् । पर्यटक बढेपछि होटल व्यवसाय पनि फष्टाएको छ ।
पदमार्ग सुधारको खाचो
मनास्लु पदमार्ग सुधार गर्नुपर्ने एमक्याप प्रमुख लामा बताउछन् । ‘चौरी खर्क सम्मको बाटो सुधार गर्नुपर्ने देखिएको छ, थोरै बजेटले पुग्दैन, आगामी वर्ष प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौ, लामाले भने । धर्मशाला–लार्केपास हुदै भिमथाङ जाने बाटो र रुपिनालाबाट न्याक आउने बाटोमा पनि केही सुधार गर्नुपर्ने उनले बताए । रुपिनालाको पदमार्ग सुधारका लागि पर्यटन बोर्डले एमक्याप मार्पmत १० लाख र धर्मशालामा ‘क्याम्प साइट’ निर्माणको लागि १५ लाख छुट्टाएको लामाले बताए । रुपिनाला क्षेत्रमा ग्लासिएर माथि पदमार्ग रहेको र यो बाटो अस्थायी प्रकृतिको हुने उनको भनाइ छ । त्यस्तै धर्मशालामा निर्माण गर्न लागिएको क्याम्प साइटमा पर्खाल लगाएर टेन्ट टाँग्ने ठाउँ, खानेपानी, शौचालय बनाउने योजना रहेको लामाले बताउछन् । धर्मशालामा हिउँ नपग्लिएका कारण काम शुरु गर्न सकिएको छैन । मनास्लु सरक्षण क्षेत्रको फोहोर व्यवस्थापनका लागि विभिन्न काम भइरहेको र स्थानीयलाई १७ वटा डस्बिन वितरण गरिएको उनले बताए । पर्यटक बढेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा होटलहरु खुल्न थालेका छन् । पदमार्ग सु्धार भएमा मनास्लु संरक्षण क्षेत्र आउने पर्यटकलाइ आउजाउमा सहज हुने बताइएको छ । साथै स्थानीयलाइ खच्चडमा सामान ढुवानी गर्न देखि आवतजावतमा समेत सहज हुने बताइएको छ ।