सत्तापक्ष र प्रमुख प्रतिपक्षकै मिलेमतोमा भ्रष्टाचार ः थापा
सत्तापक्ष र प्रमुख प्रतिपक्षकै मिलेमतोमा भ्रष्टाचार ः थापा
गोरखा ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्थानीय तह देखि केन्द्र सम्म भ्रष्टाचार बढेको बताएका छन् ।
मुक्तिनाथबाट दोस्रो चरणको स्वाभिमान यात्रा लिएर सोमवार गोरखा आइपुगेका थापाले सदरमुकामको वसपार्कमा भएको आमसभामा बोल्दै भ्रष्टाचारमा राष्ट्रिय सहमति भएको आरोप लगाएका छन् । ‘अनेकौ वहानामा भ्रष्टाचार भइरहेको छ,’ उनले भने, ‘यस्तो नाङ्गो ब्रम्हलुट अहिले सम्मको इतिहासमा भएको थिएन ।’ सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको मिलेमतोमा भ्रष्टाचार भइरहेको आरोप लगाउदै थापाले भ्रष्टाचारीलाइ कुनै कारवाही नभएको प्रति चिन्ता व्यक्त गरे । ‘सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर वाइडवडी खरिद प्रकरणमा अर्वाै रकम भ्रष्टाचार गरे, ऐनसेल कर छली प्रकरणमा पनि अर्वाै खाए, कमिसनकै खेलमा वालुवाटारका जग्गा व्यक्तिको नाममा पास गरे, तर कसलाइ के कारवाही भयो खै ?’ थापाले प्रश्न गरे । अनुसन्धान प्रक्रिया अघि बढेपनि शिर्ष नेतृत्वकै संरक्षणमा भ्रष्टाचारीलाइ कारवाही नभएको उनले जिकिर गरे । ‘कारवाही गर्ने नियकामा आफ्ना पार्टी निकट कर्मचारी भर्ती गर्छन् अनि कस्ले भ्रष्टाचारीलाइ कारवाही गर्ने !’ उनले भने । लोकतन्त्रको आवरणमा लटतन्त्र भइरहेको उनको आरोप छ । गरिवी, बेरोजगार, भ्रष्टाचार र माओवादीको नयाँ रुपमा पुर्नत्थान अहिलेको प्रमुख समस्या रहेको उनले बताए ।
बिभिन्न २२ वुँदे माग सहित शुक्रवार देखि मुक्तिनाथबाट राप्रपाले दोस्रो चरणको स्वाभिमान यात्रा शुरु गरेको हो । यात्राको सोमवार गोरखामा समापन गरिएको छ । कलश यात्रा सँगै वृहत आमसभा गरी यात्राको समापन गरिएको राप्रपाका प्रवत्ता मोहन श्रेष्ठले बताए । यात्राको क्रममा बिभिन्न जिल्लाका पवित्र स्थल र कुण्डबाट ल्याइएको जलबाट गोरखाको भगवती र गोरखनाथमा जलाभिषेक गरिएको श्रेष्ठले जानकारी दिए । नेपाललाइ सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, राजसंस्था सहितको गोलमेच सम्मेलन हनुपर्ने, संघियताबारे जनमत संग्रहमा जानुपर्ने लगायतका माग राप्रपाको छ । यात्रामा पार्टी अध्यक्ष थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेताहरु भीमप्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, लगायतका नेताहरु को सहभागिता रहेको थियो ।