ल्हो, विही र चुम्चेतमा अझै स्थापना भएन प्रहरी चौकी
ल्हो, विही र चुम्चेतमा अझै स्थापना भएन प्रहरी चौकी
गोरखा ः उत्तरी गोरखाको ल्हो, विही र चुम्चेतमा हाल सम्म पनि प्रहरी चौकी स्थापना हुन सकेको छैन ।
पहिले नै चौकी स्थापना भइसक्नुपर्ने सो क्षेत्रका लागी दरवन्दी पनि आइसकेको धेरै भयो । तर चौकी स्थापनाका लागी जिल्ला प्रहरी कार्यालयले चासो दिएको छैन । ‘धेरै पहिले देखि नै चौकी स्थापना हुनुपर्ने हो, दरवन्दी पनि छ,’ जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले भने, ‘दरवन्दी अनुसार जिल्लामा जनशक्ति नहुँदा समस्या भएको हो ।’ प्रहरी चौकी नहुँदा हाल ल्हो क्षेत्रमा सामागाउँ प्रहरी चौकीले हेरिरहेको छ । त्यस्तै विहीमा प्रोक र चुम्चेतमा छेकम्पारको टोलीले हेरिरहेको एसपी रावलले बताए ।
भूकम्पले क्षति पुगेका चौकी स्थापना हुँदै
भूकम्पले क्षति पुगेका जिल्लाका प्रहरी चौकीहरु धमाधम पुननिर्माण हुदैछन् । हाल सम्म बुंकोट, ताङलीचोक, नयाँसाघँु, भच्चेक, जौवारी, घ्याम्पेशाल, घ्याल्चोक प्रहरी चौकी र इलाका प्रहरी कार्यालय ठाटीपोखरीको भवन निर्माण भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यस्तै वालुवा र रातमाटे प्रहरी चौकी पनि निर्माण भइसकेको एसपी रावलले बताए । बोर्लाङ, ताकुकोट, हर्मी, वारपाक प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट चनौटेको भवन पुननिर्माण भइरहेको उनले जानकारी दिए । केही चौकीहरु अस्थायी टहरा र भाडाको घरमा संचालन भएको उनको भनाइ छ ।